काठमाडौं । उपनिर्वाचन अन्तर्गत इलाम क्षेत्र नम्बर-२ मा मतगणना जारी छ । हालसम्म फाकफोकथुम गाउँपालिकाका वडा नम्बर-१, २, ३ र ४ को मतगणना सकिएको छ । ती वडाका पाँच हजार ८६८ मतगणना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
प्रारम्भिक पछिल्लो मतगणना अनुसार एमालेका तर्फबाट उम्मेदवार बनेका सुवाङ नेम्वाङले अग्रता कायम गरेका छन् । उनले दुई हजार ५४२ मत पाएका छन् । दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका डम्बर खड्काले दुई हजार १९७ मत प्राप्त गरेका छन् ।
यस्तै, तेस्रो स्थानमा रहेका स्वतन्त्र उमेदवार (मुढा चुनाव चिह्न) डकेन्द्रसिंह थेगिमले ५९३, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट उमेदवार बनेका मिलन लिम्बूले ३७९ मत प्राप्त गरेका छन् ।
इलाम नगरपालिका-७ स्थित गौतमबुद्ध सम्मेलन केन्द्र (सिटी हल)मा मतगणना भइरहेको छ । इलाम-२ मा एक लाख १५ हजार ८८९ मतदाता रहेकामा ६९ हजार ४२१ जनाले मतदान गरेका छन् । इलाम-२ मा इलाम नगरपालिका, देउमाई नगरपालिका, माङ्सेबुङ गाउँपालिका, फाकफोकथुम गाउँपालिका, चुलाचुली गाउँपालिका र माई नगरपालिकाका ६, ७ र ८ नम्बर वडा पर्छन् ।
इलाम-२ मा आइतबार मध्याह्नदेखि मतगणना थालिएको हो । यहाँ १९ उमेदवार चुनावी प्रतिस्पर्धामा छन् ।