• मंसिर १२ २०८१, बुधबार

एसीसी प्रिमियरमा कतारविरुद्ध नेपालको सानदार जीत

बैशाख १ २०८१, शनिबार

काठमाडौं । अलराउन्डर दीपेन्द्रसिंह ऐरीको कीर्तिमानी ब्याटिङप्रेरित नेपालले एसीसी प्रिमियर कपमा लगातार दोस्रो जित निकालेको छ । शनिबार दीपेन्द्र ट्वान्टी–२० अन्तराष्ट्रिय क्रिकेटको एकै ओभरमा ६ छक्का प्रहार गर्ने तेस्रो ब्याटर बनेको खेलमा नेपालले कतारविरुद्ध ३२ रनको जित निकालेको हो ।

ओमानको अल अमेरत रंगशालामा टस जितेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर २१० रन बनाएको थियो । कतारविरुद्ध २१ बलमा ६४ रन बनाएका दीपेन्द्रले अन्तिम ओभरमा ६ बलमा ६ छक्का प्रहार गरेका हुन् । दीपेन्द्रले कतारका कम्रन खानको एकै ओभरमा ३६ रन प्रहार गरे ।

दीपेन्द्रअघि ट्वान्टी–२० अन्तराष्ट्रिय क्रिकेटमा भारतका युवराज सिंह र वेस्ट इन्डिजका काइरन पोलार्डले एकै ओभरमा ६ छक्का प्रहार गरेका थिए । युवराजले इंग्ल्यान्डका स्टुड बोर्ड र पोलार्डले श्रीलंकाका अकिला धनन्जयको ओभरमा ६ छक्का प्रहार गरेका थिए । युवराजले सन् २००७ को ट्वान्टी–२० विश्वकप र पोलार्डले २०२१ मा यो कीर्तिमान बनाएका हुन् । एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा भने दक्षिण अफ्रिकाका हर्सेल गिब्स र अमेरिकाका जस्करन मल्होत्राले एकै ओभरमा ६ छक्का प्रहार गरे ।

दीपेन्द्रबाहेक आसिफ शेखले ५२ रन थपे । कुशल मल्लले ३५, कप्तान रोहितकुमार पौडेलले १८ र कुशल भुर्तेलले १३ रन बनाए । कतारका हिमान्सु राथोड र मुसावर साहले समान तीन विकेट लिए । अमिर फारुकले एक विकेट लिए ।
नेपालले दिएको २१० रनको लक्ष्य पछ्याउने क्रममा कतारले २० ओभरमा नौ विकेट गुमाएर १७८ रन मात्र बनाउन सक्यो । कतारका कप्तान मुहम्मद तानविरले ६३ रन जोडे । मोहम्मद अहनाफले २३, हिमान्सु राथोडले २२, अद्नान मिर्जाले १९ र कम्रन खानले १८ रन बनाए ।

नेपालका ललितनारायण राजवंशी, दीपेन्द्रसिंह ऐरी र गुल्सन झाले समान दुई विकेट लिए । कुशल मल्ल र अविनाश बोहराले एकरएक विकेट हात पारे । नेपालले यसअघि पहिलो खेलमा मलेसियालाई पाँच विकेटले हराएको थियो । आउँदो सोमबार नेपालले हङकङविरुद्ध तेस्रो खेल खेल्नेछ ।