काठमाडौं । शहिदको सरोकार, हाम्रो अधिकार भन्ने मुल नाराका साथ शहिद अर्जुन चौधरी (राहुल), इन्द्रबहादुर चौधरी (श्याम) र विजय चौधरी(विजय)को स्मरणमा स्मृति दिवस काठमाडौंमा मनाइएको छ ।
शहिद परिवार परिवार द्वन्द्व प्रभावित सरोकार समाज केन्द्र, दाङको आयोजना तथा एम्नेष्टी इन्टरनेशनल, नेपालको सहयोगमा सो कार्यक्रमका आयोजना गरिएको हो । कार्यक्रममा दाङका जनयुद्धका शहिद अर्जुन चौधरी (राहुल)की बहिनी सुशिला चौधरीले आफ्ना दाजू राहुलसहित ३ जना माओवादी कार्यकर्तालाई शाही नेपाली सेनाले पक्राउ गरेर चरम यातना दिएर हत्या गरेको हुनाले त्यसो गर्नु मानव अधिकारको उल्लंघन भएको भन्दै पीडकलाई कारवाहीको माग गरिन् ।
उनले गणतन्त्र आउँदा पनि आफूहरुले न्याय नपाएको भन्दै सरकारसित गुनासो पोखिन् । उनले न्याय नपाउँदासम्म पीडितहरु लडिरहने कुरा बताइन् । जनअधिकार अभियानका अध्यक्ष तथा पूर्वप्रतिनिधिसभा सदस्य एकराज भण्डारीले पीडितलाई न्याय दिन ढिला भइरहेको भन्दै आफूहरुले धेरै चोटी सरकारलाई यो विषयमा ध्यानाकर्षण गराएको भए पनि सबै सरकारले आश्वासन मात्र दिएको दुःखेसो व्यक्त गरे । उनले राज्यलाई यस विषयमा दबाब दिन छोड्न नहुनेमा जोड दिए ।
सोही अवसरमा सांसद मैना कार्कीले पीडितलाई न्याय दिने बारेको विधेयक संसदमा अड्किएको भन्दै यो विषय छिटो समाधान गर्न आफूले सरकारलाई दबाब दिने बताइन् । अर्का वक्ता द्वन्द्वपीडित राष्ट्रिय सञ्जालका गोपाल शाहले निशस्त्र व्यक्ति पक्राउ गरी हत्या गर्ने अपराधीलाई कडा कारवाही गर्न माग राखे ।
अर्की वक्ता गीता रसाइलीले शान्ति प्रकृयाको १९ वर्षसम्म पनि पीडितलाई न्याय किन नदिएको भन्दै सरकारप्रति आक्रोस व्यक्त गरिन् । अर्का वक्ता अधिवक्ता महेश्वरप्रसाद चौधरीले पीडितहरुलाई न्याय नदिनुमा दलहरु नै दोषी भएको दावी गरे ।
अर्का वक्ता सुमन अधिकारीले राज्यले द्वन्द्वका घाउहरुलाई अवहेलना गरेको भन्दै पीडितलाई तत्काल न्याय दिलाउन माग गरे । सो अवसरमा इन्सेकका प्रतिनिधि कृष्ण गौतमले मानवीय कानुनको उल्लंघन गरेर राज्यले राहुलहरुको हत्या गरेको बताए ।
मानवअधिकारकर्मी तथा अभियान्ता चरण प्रसाईंले एमनेष्टी इन्टरनेशनलले गरेको कार्यहरुको बारेमा बोल्दै युद्धकै बेला आफ्नो संस्थाले धेरैलाई न्याय दिएको स्मरण गरे । उनले सरकारमा रहेका नेता फस्लान भनेर शान्ति प्रकृयाका काम पूरा गर्न ढिलाई गरिएको भन्दै नेता फस्ने डरले पीडितलाई दिन ढिला गर्न नहुनेमा जोड दिए । एमनेष्टीका अध्यक्ष विविध बुढाथोकीले आफूहरु पीडितको पक्षमा लडेको हुनाले पीडितलाई न्याय दिलाएरै छाड्ने प्रतिवद्धता जनाए ।
सो अवसरमा बोल्दै राष्ट्रिय मानव अधिकार आयोगमा सचिव मुरारी खरेलले आफू आवद्ध संस्थाले युद्धकालमा भएका मानवअधिकार उल्लंघनका घटनाको छानबिन गरी सरकारलाई रिपोर्ट बुझाइसकेको बताए । साथै उनले आफूहरुले रिपोर्ट बुझाइसकेको भए पनि राजनीतिक अस्थिरताका कारण पीडितले न्याय नपाउने चिन्ता रहेको बताए ।
सोही अवसरमा सांसद मैना कार्कीले पीडितलाई न्याय दिने बारेको विधेयक संसदमा अड्किएको भन्दै यो विषय छिटो समाधान गर्न आफूले सरकारलाई दबाब दिने बताइन् ।
कार्यक्रममा शहिद राहुलका सहकर्मी जीवन हमालले राहुलसहित ३ जनालाई शाही सेनाले अमानवीय तरिकाले गरेको हत्या र त्यसबेलाको अवस्थाको बारेमा जानकारी गराएका थिए । कार्यक्रमकाे संचालन अधिवक्ता उमाकान्त युकेले गरेका थिए ।