• मंसिर १२ २०८१, बुधबार

खेलकुद क्षेत्रमा फोहोरी राजनीति नगर्न मन्त्री श्रेष्ठको निर्देशन

चैत्र ११ २०८०, आईतवार

कास्की । युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले खेलकुद क्षेत्रमा फोहोरी राजनीति नगर्न निर्देशन दिएका छन् । पोखरा रंगशालाभित्र रहेको क्रिकेट मैदानको अवलोकन गर्ने क्रममा उनले क्रिकेट रंगशाला बनाउन राजनीति गर्न नहुने बताएका हुन् ।

मन्त्री श्रेष्ठले पोखराको क्रिकेट मैदानलाई कमनसेन्स लगाएर भएपनि बजेट दिनुपर्ने बताए । ‘राजनीति आफ्नो ठाउँमा होला, कमसेकम कमनसेन्स पनि चाहियो के,’ उनले भने ।

क्रिकेट मैदानबारे प्रादेशिक क्रिकेट संघ गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी गराएका थिए । पूर्वाधारयुक्त मैदान बनाउन १ अर्ब ७७ करोड रुपैयाँको वृहत गुरुयोजना निर्माण गरिएको छ । तर, बजेट अभावका कारण निर्माण प्रक्रिया अघि बढ्न सकेको छैन । उनले त्यति धेरै बजेको अपेक्षा सङ्घले नगरेको बताए ।

‘त्यत्रो पैसा हामीले आशै गरेका छैनौँ । अहिले नै बन्छ भन्ने पनि लागेको छैन,’ उनले भने, ‘क्यानले पूर्वाधारमा पैसा दिँदैन । अरूमा पनि कसको मान्छे भनेर हरहिसाब गर्छन् ।’

श्रेष्ठले रंगशालाभित्र रहको बहुउद्देश्यीय कभर्ड हलको पनि निरीक्षण गरे । कभर्डहललाई साउण्डप्रुफ बनाउने काम अघि बढाउन उनको निर्देशन छ । रंगशालामा रहेका फुटबल स्टेडियम, आर्चरी, टेनिस र स्वकास, मुवाथाइ प्रशिक्षण केन्द्र लगायतको निरीक्षण गरे । उनले रंगशालामा रहेका संरचनाको संरक्षण नभएकोमा असन्तुष्टि जनाए ।