• मंसिर १४ २०८१, शुक्रबार

८ प्रकारका औषधि खाइरहेका महरालाई अस्पतालमै बस्न दिन अदालतको आदेश

चैत्र ५ २०८०, सोमबार

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई अस्पतालमा बस्न दिन आदेश दिएको छ ।
महराले आफूले विभिन्न ८ प्रकारका औषधि खाँदै आएको र स्वास्थ्य अवस्था ठीक नभएकाले अस्पतालमा बस्नुपर्ने आवश्यकता रहेको अदालतमा बताएका थिए । सोहीअनुसार अदालतले आवश्यकता अनुसार अस्पतालमा बस्न दिन प्रहरीलाई आदेश दिएको केन्द्रीय अनुसन्धान ब्यूरो स्रोतले जनाएको छ ।

अदालतको आदेशअनुसार महराले केन्द्रीय अनुसन्धान ब्युरोका हिरासतमा नबसेर नर्भिक अस्पतालमा बस्ने तयारी गरेका छन् । प्रतिनिधिसभाको पूर्वसभामुख समेत रहेका महरा सुनतस्करी प्रकरणमा मुछिएपछि सोमबार रुपन्देहीबाट पक्राउ परेका थिए । पक्राउ परेलगत्तै यती एयरलाइन्सको जहाजमार्फत् काठमाडौँ ल्याएर अदालतमा उपस्थित गराएकामा उनीमाथि अनुसन्धान गर्न सीआईबीले ४ दिनको म्याद दिएको छ ।

तर न्यायाधीश दुर्गाप्रसाद खनालको इजलासमा महराले आफूमा मस्तिष्क सम्बन्धी, घाँटीको क्यान्सर, प्रोस्टेट सम्बन्धी समस्या रहेको भन्दै सोही अनुसार आठ प्रकारको औषधि खाने गरेको बताएका थिए । सोहीअनुसार अदालतले अस्पतालमा उपचार गराउन आदेश दिएको हो ।

केन्द्रीय प्रहरी प्रवक्ता भीम ढकालले काठमाडौँ ल्याइएसँगै महरामाथि आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको जानकारी दिए । सुन तस्करी प्रकरणमा मुछिएका महरा प्रहरीको निगरानीमा रहँदै आएका थिए भने रोल्पा हिँडेका भनिएका उनलाई भैरहवाबाट पक्राउ गरिएको हो । आइतबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नेकपा माओवादी केन्द्रका नेतासमेत रहेका महरासहित निजामती तथा प्रहरी कर्मचारीलाई तत्काल कारबाही गर्न निर्देशन दिएका थिए ।