काठमाडौँ । केही समयदेखि रुष्ट रहेका नेकपा माओवादी केन्द्रका उपमहासचिव मातृका यादवलाई पार्टीले सम्पर्क समन्वय प्रदेश इन्चार्जको जिम्मेवारी दिइएको छ ।
पार्टी महासचिव देवप्रसाद गुरुङले मातहतका कमिटीमा एक सर्कुलर जारी गर्दै यादवलाई सम्पर्क समन्वय प्रदेश इन्चार्जको जिम्मेवारी तोकिएको जानकारी गराएका हुन् । यसअघि उनलाई भारत प्रवासको जिम्मेवारी दिन पार्टीले प्रस्ताव गरे पनि अस्वीकार गरेका थिए ।
यस्तै माओवादीले दुई नेताको सरुवा पनि गरेको छ । केन्द्रीय सदस्य महेश्वर दाहाल ४ महिने जनतासँग माओवादी पार्टी विशेष रूपान्तरण अभियानमा बागमती प्रदेशमा खटिएकोले उनलाई सोही प्रदेशमा सरुवा गरिएको गुरुङको परिपत्रमा उल्लेख छ । यसअघि उनी प्रचार विभागमा थिए ।
यस्तै वैकल्पिक केन्द्रीय सदस्य मोहनमान स्वाँरलाई युरोप–अमेरिका प्रवास समन्वय प्रदेशमा सरुवा गरिएको छ ।
आफू क्यानडामा श्रीमतीको उपचारमा लामो समयसम्म रहन पर्ने कारण देखाइ सरुवा गरिदिन माग गरेकाले सोहीअनुसार गरिएको माओवादी कार्यालय स्रोतले बताए ।
यस्तै माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबिच एकता गर्ने सहमति भएको बारे पनि माओवादीले मातहतका कमिटीलाई जानकारी गराएको छ ।