• मंसिर १४ २०८१, शुक्रबार

यस्तो छ यसअघि कृष्णबहादुर महराले सुन प्रकरणमा सिआइबीलाई दिएको बयान

चैत्र ५ २०८०, सोमबार

काठमाडौं । माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई काठमाडौंको महाराजगञ्जस्थित केन्द्रीय अनुसन्धान ब्युरोमा ल्याइएको छ । लुम्बिनीको भैरहवा विमानस्थलबाट उनलाई सोमबार बिहान काठमाडौं ल्याइएको हो ।

सुनको अवैध तस्करी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग २०८० ले गत बिहीबार छानबिन प्रतिवेदन बुझाएको थियो । उक्त प्रतिवेदनले सिआइबीले यसअघि गरेका इलेक्ट्रिक चुरोटमार्फत् गरिएको ९ किलो सुन तस्करी र ब्रेक शुमार्फत् गरिएको ६० किलो सुन तस्करीको अनुसन्धानमा कमीकमजोरीहरू औंल्याएको थियो ।

त्यसपछि सिआइबीको प्रमुख रहेकी एआइजी किरण बज्राचार्यको सरूवा गरिएको थियो। उनको ठाउँमा एआइजी श्याम ज्ञवालीलाई सिआइबी प्रमुख बनाइएको छ । तत्कालीन समयमा अनुसन्धान गरेका डिएसपी दुर्गा दाहाल र रूगम कुवँरको पनि सरूवा गरिसकेको छ ।

आइतबार आइजिपीले जाँचबुझ आयोगको प्रतिवेदन बुझेर सिआइबीमा पठाएका छन्। उक्त प्रतिवेदन बुझेसँगै प्रहरीले महरालाई पक्राउ गरी काठमाडौं ल्याएको हो । महरा पक्राउ परेसँगै सिआइबीले ९ किलो सुन सम्बन्धीको अनुसन्धान तेस्रो पटक गर्ने भएको हो । पहिलो चरणको अनुसन्धानमा सिआइबीले भेपमा राखेर ल्याएको ९ किलो सुन चोरी गर्ने त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयका कर्मचारीहरूलाई पक्राउ गरी मुद्दा चलाएको थियो। पहिलो चरणमा चोरी गर्ने भन्सार कार्यालय नासुसहित ६ जनाविरूद्ध मुद्दा चलाएको थियो।

अहिले ६ जना नै कारागारमा छन् । विमानस्थलबाट भेप बिक्री गरिसकेको जानकारी पाएपछि अनुसन्धान गर्न भन्सार कार्यालयले गत वैशाख २६ गते सिआइबीलाई पत्राचार गरेको थियो। त्यसपछि सुन चोरी बाहिरिएको थियो । सिआइबीले गरेको पहिलो चरणकै अनुसन्धानमा बाबु कृष्णबहादुर महरा र छोरा राहुलको कनेक्सन चिनियाँ सुन तस्कर दाओजिन वाङसँग देखिएको थियो । त्यतिबेला सिआइबीले लिंक चार्टमात्रै उल्लेख गरी मुद्दा अदालतमा लगेको थियो ।

दोस्रो चरणको अनुसन्धान गर्दा भने राहुल महरा पक्राउ परे । सिआइबीले राहुल महरालाई पक्राउ गरी मुद्दा नै चलायो । उनीसँगै लोकेन्द्रकुमार पौडेल, बेल्जियन नागरिक दावा छिरिङ र निमा गुरूङलाई प्रतिवादी बनाएको थियो । पौडेल वाङका सवारी चालक थिए ।

उनीहरूविरूद्ध आपराधिक विश्वासघात, भन्सार चोरी पैठारी तथा संगठित अपराध सम्बन्धी कसुरमा मुद्दा दर्ता भएको थियो । यसमा काठमाडौं जिल्ला अदालतले राहुल र छिरिङलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको थियो । पौडेल ५ लाख धरौटीमा छुटेका थिए । यता निमा भने फरार छिन् । यही दोस्रो चरणको मुद्दा बुझाउनुअघि सिआइबीले कृष्णबहादुर महराको बयान कागज लिएको थियो ।

जसमा महराले फलफूल व्यवसायी दाओजिन वाङलाई सुन तस्करको रूपमा चिनेको बयान दिएका थिए । आफूले लामो समयदेखि चिनजान भएकाले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा सम्पर्क गरी भेपबारे बुझेको बताएका थिए ।

यस्तो छ कृष्णबहादुर महराले गरेको कागज :
मिति २०७९–०९–१० गते फ्लाइ दुबईको फ्लाइट नम्बर एफजे ०५८७ बाट नेपाल आएका चिनियाँ यात्रु ली हानसङले दुई वटा सुटकेशभित्र ७३ बट्टामा रहेको ७३० थान इलेक्ट्रिक सिगरेट त्रि.बि.भन्सार कार्यालयमा जफत भएको थियो ।
त्यसपश्चात दाओजिन वाङले उक्त सामान त्रि।वि। भन्सार कार्यालयमा पक्राउ परेको तीन दिन भयो, के भएको हो बुझी दिनुपर्यो भनी मलाई भनेका थिए । मैले त्रिभुवन विमानस्थल कार्यालयका प्रमुख भन्सार प्रशासक अरूण पोखरेललाई पहिलेदेखि चिनेको भएको हुनाले के कसो भएको हो, कानून बमोजिम के गर्न मिल्छ हेरिदिनु होला भनी फोन गरेको हो ।
मेरो छोरा राहुल भन्ने रेशम महरा के कारणले उक्त इलेक्ट्रिक सिगरेट जफत भएको रहेछ, कानून बमोजिम मिल्ने भए सहयोग गरिदिनु भनी अरुण पोखरेलको सम्पर्कमा गएका हुन् । दाओजिन वाङसँग मेरो पुरानो चिनजान हो, उनले मलाई आफू एउटा फलफूल व्यापारीको रूपमा नेपालमा व्यापार गर्ने भनी चिनाएका थिए र उनीसँग सामान्य विषयमा फोनमा कुराकानी हुने गर्दथ्यो ।
योबाहेक उनीसँग अन्य कुनै विषयमा कुराकानी हुने र अन्य कुनै किसिमको सम्बन्ध पनि छैन भन्ने व्यहोराको कृष्णबहादुर महराको कागज ।