• मंसिर १४ २०८१, शुक्रबार

राप्रपा नेता श्रेष्ठमाथि आक्रमण गर्ने सोही पार्टीका ४ कार्यकर्तामाथि कारवाही

चैत्र ४ २०८०, आईतवार

काठमाडौं । राजेन्द्र लिङ्देनको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टीका केन्द्रीय कार्यसम्पादन समिति सदस्य ठाकुरमोहन श्रेष्ठमाथि कार्यालय हाताभित्रै आक्रमण गरेकोमा तीन जनालाई कारबाही गरेको छ ।

गत फागुन २७ गते कार्यसम्पादन समिति बैठकबाट बाहिरिँदै गर्दा श्रेष्ठमाथि अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यकक्ष बाहिर हातपात भएको थियो । हातपातमा संलग्न पार्टीका सहायक महामन्त्री प्रेम बलायर, काठमाडौं क्षेत्र नम्बर ४ का क्षेत्रीय अध्यक्ष रिद्धिप्रताप राणा र राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका सदस्य सचिव निराजन बमलाई राप्रपाले निलम्बन गर्ने निणर्य गरेको छ ।

राप्रपाका एक पदाधिकारीले दिएको जानकारीका अनुसार नेता श्रेष्ठमाति आक्रमण गर्ने तीन जनालाई चार वर्षका लागि पार्टीले निलम्बन गर्ने निणर्य गरेको हो। श्रेष्ठमाथि हातपात गर्नेमध्ये बलायर नेता विक्रम पाण्डेका स्वकीय सचिव पनि हुन् ।

कार्यसम्पादन समिति बैठकमा भ्रष्टाचार रोक्न पार्टीले कदम चाल्नुपर्ने विषयमा ठाकुरमोहनले कुरा राखेका थिए । त्यसक्रममा विक्रम पाण्डेसँग भनाभन भएको थियो ।

पार्टी कार्यालयमै नेता श्रेष्ठमाथि भएको हातपातको घटनालाई राप्रपाले आन्तरिक रूपमा पनि छानबिन गरेको थियो । केन्द्रीय अनुसन्धान समितिले सिफारिसअनुसार घटनामा संलग्न रहेका तीन जनालाई चार वर्षका लागि निलम्बन गरिएको राप्रपा केन्द्रीय कार्यालयले जनाएको छ ।