• मंसिर १४ २०८१, शुक्रबार

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठद्वारा प्रचण्डलाई मत दिन निर्देशन

फाल्गुन २९ २०८०, मंगलवार

फागुन २९, काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष एवं संसदीय दलका नेता रञ्जिता श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहालको पक्षमा मतदान गर्न ह्वीप जारी गरेकी छिन् । उनले बुधबार बस्ने भनिएको प्रतिनिधिसभा बैठकमा चारैजना सांसदलाई अनिवार्य उपस्थिति हुन निर्देशनसमेत दिएकी छिन् ।

‘मिति २०८० फागुन ३० गते बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा नागरिक उन्मुक्ति पार्टी संसदीय दलको बैठकको निर्णय बमोजिम अनिवार्य उपस्थित हुन र सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहालले आफू माथि प्रतिनिधि सभाको विश्वास छ भन्ने प्रस्तावको पक्षमा मतदान गर्न (निर्देशन) ह्विप जारी गरिएको ब्यहोरा अनुरोध छ,’ पत्रमा भनिएको छ ।
सरकारमा जाने वा नजाने विषयमा श्रीमान श्रीमतीबीच विवाद भइरहेका बेला अध्यक्ष श्रेष्ठले ह्वीप जारी गरेकी हुन् । उनका श्रीमान रेशम चौधरीले संघ सरकार नजाने र कांग्रेस नेतृत्वको सुदूरपश्चिम सरकारलाई समर्थन गर्ने अडानमा छन् भने रञ्जिता एमाले–माओवादी गठबन्धनमा जाने पक्षमा छिन् ।

जसका कारण उनीहरूबीच चर्को मतभेद हुँदै आएको छ । निर्वाचन आयोगले अध्यक्ष रेशम चौधरीलाई अयोग्य ठहर गर्दै पुरानै कमिटी व्युँताएको थियो । सोमबार मात्रै बसेको संस्थापक केन्द्रीय सदस्यहरूको बैठकले संघ र प्रदेशमा समन्वय गर्न तीन सदस्यीय वार्ता समिति गठन गरेको थियो । समितिमा उपाध्यक्ष दामोदर पण्डित, रामलाल थारू र रमेश विश्वकर्मा रहेका छन् ।