काठमाडौं । एक दिवसीय सिरिजको तेस्रो तथा निर्णायक खेलमा नेपाल ‘ए’ ले क्यानडा-११ लाई जितका लागि १ सय ८२ रनको सामान्य लक्ष्य दिएको छ ।
मुलपानी क्रिकेट मैदानमा पहिलो ब्याटिङको निम्तो पाएको नेपालले ४७औं ओभरमा अलआउट हुँदै १ सय ८१ रन जोड्यो । नेपालका ७ ब्याटरले १९ रनभन्दा माथि जोडे पनि कसैले ३० रन कटाउन सकेनन् ।
पहिलो विकेटका लागि ५४ रनको साझेदारी पाएको नेपालका लागि सर्वाधिक साझेदारी नै त्यहि रह्यो । ब्याटरहरुले राम्रो सुरुवात पाए पनि त्यसलाई ठूलो स्कोरमा बदल्न सकेनन् ।
ओपनर आशुतोष ४३ बलमा २८ रन जोड्दै साद बिन जफरको बलमा स्टम्पिङ आउट भएका थिए । लगत्तै अर्को ओभरमा शेर मल्ल खाता नखोली निकोलस किर्तनको एलबीडब्लू धरापमा परे । २१औं ओभरमा अर्जुन कुमाल पनि स्टम्पिङ आउट भए। उनले ५३ बलमा २ चौकासहित २७ रन जोडे ।
२४औं ओभरमा कप्तान सन्दीप कट बिहाइन्ड भए । उनले २८ बलमा ३ चौका र १ छक्का सहित २४ रन बनाए । उनी आउट हुँदा नेपाल ८७-४ को स्थितिमा थियो ।
रशिदले खान २५ बलमा १९ रन जोडे। सुजन थपलियाले कीर्तनको बलमा एलबीडब्लू आउट हुनुअघि ५१ बलमा २० रन बनाए ।
बसिर अहमद ४० बलमा ३ चौकासहित २५ रन जोड्दै रनआउट भएपछि नेपाल संकटमा परेको थियो । त्यसपछि प्रतिश २० बलमा १९ रन जोड्दै हर्षको बलमा क्याच आउट भए ।
लगत्तै अर्को बलमा साहब आलम गोल्डेन डक आउट भए। अन्तिम विकेटका रुपमा हेमन्त ६ रनमा रनआउट भएका थिए ।