• मंसिर १५ २०८१, शनिबार

चुनाव जितेर प्रधानमन्त्री बन्न पूर्वराजालाई माधव नेपालको सुझाव

माघ २० २०८०, शनिबार

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले देश राम्रोसँग नचलेको भए राम्रो प्रधानमन्त्रीका रूपमा विकल्प दिन पूर्वराजा ज्ञानेन्द्र शाहलाई सुझाव दिएका छन् ।

शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले राज्य शासन प्रणाली ठिक ढंगले चलेको छैन भने र मुलुक राम्ररी चलाउन सकेनन् भन्ने लागेको भए नेता भई निर्वाचन जितेर प्रधानमन्त्री बन्दै देशको नेतृत्व गर्न सुझाव दिए । राष्ट्रपति बन्नका निम्ति मानिसको अभाव नरहेको उनको भनाइ छ ।

‘यदि शासन प्रणाली ठिक ढंगले चलेको छैन भने, मुलुक राम्ररी चलाउन सकेका छैनन् भने नेता भएर आए हुन्छ । जनताको बीचमा भिजे हुन्छ,’ उनले भने, ‘चुनाव जितेर आए हुन्छ । राम्रो प्रधानमन्त्रीको रूपमा देशलाई विकल्प दिए हुन्छ ।’

उनले देशमा अहिले प्रतिगामी शक्तिले टाउको उठाउने र व्यवस्थालाई समाप्त पार्ने काम भइरहेको बताए । राजतन्त्रले प्रकृतिको एकलौटी लुट मच्चाएको, लुम्बिनी विकास कोष, पशुपति विकास कोषमा लुट मच्चाएको, जनकपुरमा अनेक स्रोतसाधनको एकलौटी कब्जा गरेको आरोप उनले लगाए ।

‘अहिले हाम्रो देशको सामु प्रतिगामी शक्तिहरूले टाउको उठाउने र यो व्यवस्थालाई समाप्त पार्ने मात्रै देखिएको छ । त्यसको सामना गर्ने हो,’ उनले भने, ‘राजतन्त्रले फेरि फर्किएर आउने चाहना राखेको छ । त्यो कदापि सम्भव छैन ।’

उनले थपे,‘कुनै कोणबाट हेर्दा पनि राजतन्त्रको औचित्यता पुष्टि गर्न सकिँदैन । त्यसो हुनाले यहाँ राजतन्त्रको बारेमा कुरा उठाउनु भनेको असान्दर्भिक हो ।’ अध्यक्ष नेपालले सरकारको अहिलेको स्थितिसँग आफू सन्तुष्ट नरहेको बताए । उनले आफ्नो पार्टी मुलुकमा विद्यमान स्थितिका बारेमा गम्भीर रहेको उल्लेख गरे ।

‘अहिलेको स्थितिसँग हामी सन्तुष्ट छैनौँ । तर, असन्तुष्ट मात्रै भएर पनि केही हुँदैन,’ उनले भने,‘असन्तुष्टि समस्याको समाधान होइन । समस्याको समाधान भनेको खोजेर पत्ता लगाउने हो । समस्याका कारण पत्ता लगाउनुपर्छ । खोजी गर्नुपर्छ । त्यसको समाधानको बारेमा गम्भीर विचार र मन्थन हुनुपर्छ ।’ विश्वविद्यालयहरूमा विद्यार्थीको कमी भइरहेका बारेमा गहन अध्ययन गर्न जरुरी रहेको उनले बताए ।