• जेष्ठ ६ २०८३, बुधबार

व्यवसायीको गुनासो,‘सरकारले अरुण चौधरीलाई पक्रेर निजी क्षेत्रलाई त्रसित बनायो’

माघ १८ २०८०, बिहीबार

काठमाडौं । निजी क्षेत्रले सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरूण चौधरीको पक्राउले निजी क्षेत्रलाई त्रसित बनाएको बताएको छ ।

नेपाल उद्योग परिसंघले एक विज्ञप्तिमार्फत् राज्यले एक व्यवसायीलाई मात्र नभएर सबै निजी क्षेत्रलाई नै त्रसित बनाउने गरी धरपकड शैलीमा चौधरीलाई पक्राउ गरेको बताएको छ ।

‘यसप्रति निजी क्षेत्रको घोर आपत्ति छ । यसले सम्पूर्ण उद्योगी र व्यवसायीको मानमर्दन भएको हामीले महसुस गरेका छौँ,’ विज्ञप्तिमा भनिएको छ । चौधरी देश छाडेर कतै जान नलागेको भए पनि उनलाई धरपकड शैलीमा पक्राउ गरिएको परिसंघको आरोप छ ।

‘पक्राउअघि न प्रहरीले कुनै सूचना दिएको थियो, न त अनुसन्धानका लागि बोलाएको नै थियो,’ परिसंघले भनेको छ । चौधरीको पक्राउले सरकारले आर्थिक समृद्धिमा निजी क्षेत्रको उपादेयतालाई उपेक्षा गर्न खोजेको देखिएको व्यवसायीको गुनासो छ । उनीहरूले लगानी सम्मेलनको पूर्वसन्ध्यामा भएको व्यवसायीमाथिको धरपकडले लगानीको वातावरण बिथोल्ने बताए ।

‘सरकारले एकातिर ठूलो महत्वाकांक्षाका साथ लगानी सम्मेलनको तयारी भइरहेको भन्ने र अर्कोतर्फ उद्योगी व्यवसायीहरूमाथि धरपकडको डन्डा बर्साइरहने हो भने यो द्वेध व्यवहारले विदेशी त के स्वदेशी लगानीकर्ता पनि सरकारको आश्वासनबाट तर्सने प्रष्ट छ । यसले लगानीको वातावरण बिथोल्ने बाहेक अरू केही गर्दैन,’ विज्ञप्तिमा भनिएको छ ।

उचित र पर्याप्त कारण भएको अवस्था बाहेक अभियुक्तलाई शंकाकै भरमा वैयक्तिक स्वतन्त्रता हनन हुने गरी पक्राउ गर्ने कार्य कुनै पनि दृष्टिकोणले न्यायसंगत नदेखिएको व्यवसायीहरूको ठहर छ ।