काठमाडौं । विशेष अदालतले डिभिजन सडक कार्यालय विराटनगर, मोरङका तत्कालीन डिभिजन प्रमुख (सीडीई) जितेन्द्रकुमार चौधरीलाई सजाय निर्धारण गरिएको छ। करिब ४ करोड रुपैयाँ अनियमिततामा दोषी ठहर भएका थिए ।
चौधरीलाई ६ महिनाको कैदको सजाय सुनाइएको छ विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए ।
त्यसैगरी २ करोड ४४ लाख ९३ हजार ७६५ रुपैयाँ जरिवाना सुनाउनका साथै बिगो (३ करोड ९९ लाख ४४ हजार ३४२) रुपैयाँ पनि असुल गर्नुपर्ने भन्दै सजाय निर्धारण गरिएको छ।
चौधरीले सडक विभाग अन्तर्गत कार्यरत रहँदा पदीय मर्यादा विपरीत सडकका विभिन्न आयोजनाहरुमा बसी ठेकेदारहरुसँग मिलेर गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ फागुन ५ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
चौधरीको परिवारले अमिल्दो र अस्वाभाविक उच्च जीवनयापन गरेको, आफ्नो हैसियतभन्दा बढी रकम खर्च गरी आफू, श्रीमती र छोरा समेतका नाममा दर्ता कायम रहने गरी घर जग्गा खरिद गरेको, छोराछोरीको शैक्षिक खर्च लगायतका विभिन्न शीर्षकहरुमा गरेका खर्चहरु र विभिन्न बैंक खाताहरुमा रहेका मौज्दातको हिसाब गर्दा ४ करोड अकुत सम्पत्ति कमाएको अख्तियारले दाबी गरेको थियो।
बिगो जफत गर्ने प्रोजनार्थ भन्दै अख्तियारले उनकी श्रीमती किरण चौधरी र छोरा अभिषेक चौधरी समेतलाई प्रतिवादी कायम गरी सम्पत्ति जफत गरी पाउन समेतको मागदाबी गरेको थियो।