काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यसअघि छुट भएका थप तीन हजार सहिदको नाम क्याबिनेटबाट निर्णय भइसकेको र अब राजपत्रमा प्रकाशित हुने बताएका छन्।
शनिबार सहिद प्रतिष्ठान नेपालको १४ औं वार्षिक साधारण सभामा सम्बोधन गर्दै उनले भने, ‘छुट भएका झन्डै तीन हजार सहिद घोषणा क्याबिनेटबाट निर्णय भइसकेको छ। गृह मन्त्रालयबाट प्रमाणित भइसकेको छ। अब त्यो राजपत्रमा प्रकाशित गर्नका लागि अगाडि बढिसकेको छ।’
प्रधानमन्त्री प्रचण्डले अझै केही छुट भएको छ भने बाँकीको पनि सूचीकृत गरिने बताए। उनले यो निर्णय आफैंमा सामान्य निर्णय नभएको पनि दाबी गरे। ‘यसले हाम्रो क्रान्तिलाई सम्मानित गरेको छ। युद्धलाई सम्मानित गरेको छ। र सहिदहरूलाई राष्ट्रिय सहिदको रुपमा सम्मानित गरेको छ। हामी बाँचेकाहरूको एउटा ठूलो जिम्मेवारी यो निर्णयले पूरा गराएको छ’, उनले भने।
१५/१६ वर्षअघि घोषणा गरिएका सहिदहरू औपचारिक रुपमा राष्ट्रिय दर्जा प्राप्त गर्न नसकेको उनको भनाइ थियो। ‘किनभने त्यसलाई औपचारिक ढंगले दर्ता नगरिएको हुनाले, त्यसलाई राजपत्रमा प्रकाशित नगरिएको हुनाले, राष्ट्रिय सहिदको मान्यता प्राप्त गर्न हाम्रा हजारौं सहिदहरू बञ्चित भए’, उनले भने। यसपटक आफूले त्यही अधुरो कामलाई पूरा गर्नैपर्छ भन्ने संकल्प लिएकाले जनयुद्ध र जनआन्दोलनका सहिदहरूलाई राष्ट्रिय सहिदको रुपमा सम्मान गर्ने काम पूरा भएको बताए।
उनले जनयुद्धको विषयलाई, सहिदहरूको विषयलाई, बेपत्ता योद्धाहरूको विषयलाई टुंगो लगाउन आफूले नेतृत्व गर्नैपर्छ भन्ने संकल्प लिएर अगाडि बढेको बताए। त्यही संकल्पकै कारण जनयुद्ध दिवस घोषणा गरिएको उनको भनाइ छ। त्यसको विरोध भएको भए पनि त्यसो गर्नु आफ्नो र आफूहरूको आन्दोलनको जिम्मेवारी भएको उनको भनाइ छ।