• मंसिर १५ २०८१, शनिबार

आजदेखि  ‘समुदायमा काँग्रेस’ सुरु, अभियान वडा केन्द्रित रहने

माघ १३ २०८०, शनिबार

काठमाडौँ । आजदेखि नेपाली काँग्रेसको  ‘समुदायमा काँग्रेस’ अभियान सुरु हुने भएको छ ।

अभियान झन्डै दुई सातासम्म सञ्चालन गर्ने तयारी काँग्रेसको छ । शनिबारदेखि माघ २६ गतेसम्म सो अभियान सञ्चालन हुँदै छ ।

काँग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले अभियानका क्रममा समुदायस्तरमा प्रत्यक्ष गई स्थानीय तहबाट हुने सेवा प्रवाह, विकास निर्माणको अवलोकन गरी नागरिकका गुनासा र सुझावलाई वडास्तरबाटै कार्यान्वयन गराउन पहलकदमी लिने जानकारी गराए ।

अभियानका लागि काँग्रेसले केन्द्रीय प्रतिनिधिलाई जिल्लास्तरमा खटाएको छ । केन्द्रीय प्रतिनिधिको समन्वयमा पार्टीका जिल्ला कार्यसमितिबाट माघ १५ गतेसम्ममा सबै (६७४३) वटा वडामा प्रतिनिधि खटाइने तय भइसकेको पौडेलले जानकारी दिए ।

अभियान मूलतः वडा केन्द्रित रहने छ । माघ १६ गते सहिद दिवसका दिन विशेष कार्यक्रमसहित अभियानको पहिलो चरण प्रारम्भ हुने काँग्रेसले जनाएको छ । वडा तथा जिल्लास्तरमा खटिएका केन्द्रीय प्रतिनिधिबाहेक पार्टीका केन्द्रदेखि वडा तहसम्म पदाधिकारीका साथै सदस्यहरू परिचालित हुनेछन् । साथै विभिन्न भ्रातृ सङ्घ तथा शुभेच्छुक संस्थामा आबद्ध केन्द्रदेखि स्थानीय तहसम्मका प्रतिनिधिलाई समेत काँग्रेसले अभियानमा एकसाथ परिचालन गर्ने जनाएको छ ।

आजबाट सुरु हुने अभियानको माघ २६ गते सुशील कोइरालाको स्मृति दिवसका दिन पारेर समापन गर्ने काँग्रेसले तय गरेको छ ।