काठमाडौं । नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश सभाको संसदीय दलको नेता परिवर्तन गरिएको छ ।
शुक्रबार बिहान उपनेता अक्कलबहादुर रावलको अध्यक्षतामा बसेको बहुमत सांसदको बैठकले दलका नेता खगराज भट्टलाई परिवर्तन गरेर मानबहादुर धामी ‘सन्तोष’लाई चयन गरेको हो ।
भट्ट अनुपस्थित बैठकमा प्रदेश सभाका १० मध्ये ६ जनाको सहभागिता रहेको थियो । उपनेता रावलका अनुसार बैठकमा मानबहादुर धामी, अक्कलबहादुर रावल, ओमविक्रम भाट सरल, लक्ष्मी विक, शिवसिंह ओली र गीतादेवी मालको उपस्थिति रहेको थियो । गीतादेवी माल प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री पनि हुन् ।