• जेष्ठ ६ २०८३, बुधबार

न्यायाधीश विदामा बसेपछि अफताब आलमको मुद्दाको पेशी तोकिएन

पुष २९ २०८०, आईतवार

काठमाडौं । रौतहटमा बम विस्फोट गरी सामूहिक नरसंहार मच्चाएको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमको मुद्दाको सुनुवाइका लागि आइतबारलाई पेसी तोकिएन। अन्तिम सुनुवाइका लागि आइतबारलाई पेसी रहे पनि न्यायाधीशहरु बिदामा भएको भन्दै पेसी नतोकिएको हो।

रौतहट जिल्लामा अदालतमा ७ जना न्यायाधीश छन्। तर आइतबार २ जना न्यायाधीश मात्रै उपस्थित छन्। त्यसो त आलमको मुद्दाबाट न्यायाधीशहरु तर्किने समेत गरेका छन्।

जिल्ला अदालतका श्रेस्तेदार उद्धव ढोडारीले न्यायाधीशहरु बिदामा भएकाले पेसी नतोकिएको बताए। ४ जना न्यायाधीशले एकैपटक बिदा लिएकाले धेरै मुद्दा स्थगित गर्नुपरेको श्रेस्तेदार ढोडारीको भनाइ छ। आलमको मुद्दामा अब अर्को पेसी तोकिने अनि सुनुवाइ हुने उनको भनाइ छ। यसअघि गत कात्तिक २२ गते न्यायाधीश बाबुकाजी बानियाँको इजलासले बहस नोट माग गर्ने आदेश दिएको थियो।

अदालतको आदेश बमोजिम मंसिर २४ वादी र प्रतिवादी तर्फका कानुन व्यवसायीले बहस नोट बुझाए पनि सुनुवाइको पेसी तोकिएको थिएन।

२०६४ सालको संविधान सभा निर्वाचनको पूर्वसन्ध्यामा रौतहटको राजापुरमा बम विस्फोट भएको थियो। उक्त घटनामा प्रहरीले २०७६ सालमा पुन: अनुसन्धान गरेपछि आलमविरुद्ध अदालतमा मुद्दा पुगेको थियो।