• आश्विन १३ २०८१, आईतवार

रुघाखोकीको समस्या देखिने ‘सिजनल फ्लु’बाट बच्ने उपाय

पुष २९ २०८०, आईतवार

जाडोमा सबैभन्दा बढी रुघाखोकी (सिजनल फ्लु)ले ज्यादा सताउँछ । पछिल्ला केही दिन रुघा लाग्ने, खोकी लाग्ने, घाँटी दुख्ने र ज्वरो आउने लगायतका समस्या लिएर अस्पताल पुग्नेको संख्या बढ्दो छ । इन्फ्लुएन्जा भाइरसका कारण रुघाखोकीको समस्या देखिने गर्छ ।

रुघा लाग्ने, खोकी, घाँटी दुख्ने र कसैकसैलाई पखालालगायत पेटका समस्या पनि देखा पर्न सक्छ । इन्फ्लुएन्जाको संक्रमण हुने व्यक्तिले भाइरस अरुमा नसरोस् भनेर निकै ध्यान दिनुपर्ने हुन्छ । हाच्छिउँ गर्दा नाकमुख छोपेको हात धुने, मास्क लगाउने, छुट्टै खालका रुमाल प्रयोग गर्नु राम्रो हो ।

जाडोमा रुघाखोकी बढी लाग्ने विषयलाई लिएर विभिन्न अध्ययन भएका छन्। ती अध्ययनबाट केही नतिजा पनि निस्किएका छन्। भाइरस शरीरमा पुग्ने सबैभन्दा ठूलो गेट–वे नाक हो। नाकमा भाइरसलाई भित्र छिर्न नदिने रोग प्रतिरोधी प्रणाली हुन्छ। त्यहाँ एक प्रकारका कोषिकाहरु हुन्छन्, जसले भाइरसलाई रोकिरहेका हुन्छन्। जाडोको समयमा चिसोले गर्दा त्यसको रोग प्रतिरोधी क्षमता कमजोर बनाइदिन्छ।

उपचारका लागि भने सिटामोललगायत एन्टी–एलर्जिक ट्याब्लेटहरु र पानीको बाफ लिनुपर्छ । यो बेलामा तातो चिज सेवन गर्ने र शरीरलाई तातो राख्ने गर्नुपर्छ । पाँच÷६ दिनमा संक्रमण आफैँ कम भएर जान्छ । जाडोमा धुलोको समस्या पनि ज्यादा हुन्छ । यसले एलर्जीको समस्या निम्त्याउन सक्छ । कसैकसैलाई भने चिसोको एलर्जी पनि हुन सक्छ ।

दम भएका मानिसलाई चिसोको बेलामा अझै समस्या हुन सक्छ । कसैलाई जाडो या चिसोको एलर्जी छ भने यो समयमा उनीहरुलाई झनै दुःख दिन सक्छ । जाडोमा सानो बच्चादेखि वृद्धवृद्धासम्मलाई निमोनियाको जोखिम पनि उच्च हुन्छ । बालबालिकामा प्रतिरक्षा प्रणाली त्यति विकास भइसकेको हुँदैन । प्रतिरोधको क्षमता त्यसै पनि कम हुने भएकाले ६५ वर्षभन्दा बढीको उमेरका व्यक्तिलाई निमोनिया भएमा त्यसले विकराल रुप लिन सक्छ । त्यसैले कुनै समस्या हुनासाथ तत्काल अस्पताल गएर उपचार गरिहाल्नुपर्छ । साना बच्चामा पनि श्वासप्रश्वास र निमोनिया छ भने तत्काल अस्पताल लगेर उपचार गराउनुपर्छ ।

सकेसम्म बसको छतमा यात्रा नगरीभित्र सिटमै बस्नु राम्रो हो । बालबालिका र चिसोको एलर्जी हुनेले छतमा यात्रा नगर्दा नै जाति हुन्छ । बाक्लो लुगा, माक्स र गलबन्दी लगाएर हिँड्दा चिसोबाट बच्न सकिन्छ ।चिसोमा फ्लु सर्ने सम्भावना ज्यादा हुने भएकाले मास्क लगाएर हिँड्दा संक्रमणको खतरा टर्छ । सबै जना बसमा कोचिएर हिँड्ने भएकाले पनि म मास्कको प्रयोगमा ज्यादा जोड दिन्छु । बाहिर हिँड्दा प्रयोग भएको हात सकेसम्म धुनुपर्छ ताकि संक्रमण नहोस् । मोटरबाइकमा हिँड्नेहरुलाई पनि चिसोले सताउन सक्छ । जरुरी छैन भने बिहानमा नहिँड्दा हुन्छ । हिँड्नै परे हावा नछिर्ने खालका कपडा लगाउनु बुद्धिमानी हुन्छ ।