• जेष्ठ ६ २०८३, बुधबार

भोलिदेखि काठमाडौँमा मेलम्चीको पानी वितरण सुरु गरिने

पुष २९ २०८०, आईतवार

काठमाडौँ । खानेपानीमन्त्री महिन्द्र राय यादवले आउँदो माघ एक गतेदेखि काठमाडौँमा मेलम्चीको पानी वितरण गरिने बताएका छन् । सुन्दरीजलस्थित मेलम्चीको पानी प्रशोधन केन्द्रको शनिबार अनुगमन तथा निरीक्षण गर्दै मन्त्री यादवले भने, “मेलम्चीको पानी सुन्दरीजलमा आइपुगेको छ, माघ एक गते बिहान नौ बजेदेखि काठमाडौँमा वितरण सुरु हुन्छ ।”

उनले लक्ष्यभन्दा पहिले नै सुन्दरीजलमा पानी आइपुगेको बताए । अब बाह्रै महिना काठमाडौँमा मेलम्चीको पानी वितरण हुने दाबी गरे । काठमाडौँका विभिन्न ठाउँमा पानी वितरण हुने पाइप बिग्रिएकाले मर्मत र खानेपानी मिटर जडान गर्न उनले निर्देशन दिए । त्यस अवसरमा मेलम्ची खानेपानीको आपूर्ति निर्बाध रूपमा सुनिश्चित गर्न मेलम्ची खानेपानी विकास समितिका वरिष्ठ डिभिजनल इन्जिनियर पमदबहादुर कुँवरको संयोजकत्वमा एक समिति समेत गठन गरिएको थियो ।

मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौँ आउने मेलम्ची खानेपानी विकास समितिका आयोजना निर्देशक जक्की अहमद अन्सारीले जानकारी दिए ।