काठमाडौं । भारतसँग टाढिँदै गएको माल्दिभ्स चीनसँग नजिकिँदै गएको छ । गत वर्ष मोहम्मद मुइज्जु जब माल्दिभ्सको नयाँ राष्ट्रपति बने उनले लगातार भारतीय सेनाहरूलाई माल्दिभ्सबाट हटाउन गृहकार्य गरे । अन्ततः भारतले आफ्ना सेनाहरू माल्दिभ्सबाट हटाउने भएको छ ।
मुइज्जु वास्तवमा ‘इन्डिया आउट’को नाराकै कारण देशका राष्ट्रपति बनेका हुन् । आफ्नो चुनावी अभियानका क्रममा उनले भारतलाई माल्दिभ्समा कुनै स्थान हुनेछैन भनेका थिए । उनले भारतका कारण देशको सार्वभौमिकता खतरामा परेको बताउँदै आएका थिए । यसक्रममा हालै माल्दिभ्सका तीन जना मन्त्रीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई जोकर, आतंकवादी र इजरायलको कठपुतली भनेका थिए । त्यसले भारत र माल्दिभ्सको सम्बन्ध थप चिसिएको छ ।
माल्सा शरिफ, मरियम शिउना र अब्दुल्ला महजुम माजिदको आपत्तिजनक टिप्पणीपछि उनीहरूलाई निलम्बन गरिएको छ । भारतले माल्दिभ्सका उच्चायुक्तलाई बोलाएर स्पष्टीकरण पनि मागेको छ । यो घटनाले भारतीय सामाजिक सञ्जालमा हलचल नै मच्चाएको छ । भारतीयले माल्दिभ्स घुम्न नजाने वाचा गर्न थालेका छन् । मोदीलाई आतंकवादी भनिएको विषयले तनाव बढ्दै जाँदा माल्दिभ्सका राष्ट्रपति मुइज्जुले भने चीन भ्रमण गरेका छन् । पाँच दिने भ्रमणका लागि मुइज्जु सोमबार चीन पुगेका छन् ।
मुइज्जुले यसक्रममा चीनका राष्ट्रपति सी चिनफिङलाई भेटेर २० महत्वपूर्ण सम्झौतामा हस्ताक्षर गरेका छन् । दुवै देशले द्विपक्षीय सम्बन्ध प्रगाढ बनाउने र व्यापारका विषयमा सम्झौता गरेका हुन् । माल्दिभ्सको राष्ट्रपति कार्यालयले सम्झौताबारे भनेको छ, ‘माल्दिभ्स र चीन सरकारबीच २० प्रमुख सम्झौतामा हस्ताक्षर भएको छ, दुवै देशका राष्ट्रपतिको उपस्थितिमा यो सहमति बनेको हो ।’
पर्यटनमा सहकार्य, अर्थतन्त्र सुधार, विपद् व्यवस्थापन, डिजिटल अर्थ व्यवस्थामा लगानीजस्ता विषयमा सम्झौता भएको छ । सम्झौताको बजेटका बारेमा केही खुलाइएको छैन । यसका साथै चिनियाँ बेल्ट एन्ड रोड अवधारणा अनुसार माल्दिभ्समा निर्माणको काम तीव्र गतिमा अगाडि बढाइनेछ । बीबीसी