• मंसिर १५ २०८१, शनिबार

चीनले नेपाल र भुटानलाई डर देखाइरहेको भारतीय पूर्व सेनाप्रमुखको आरोप

पुष २ २०८०, सोमबार

काठमाडौं । भारतका पूर्व सेनाप्रमुख मुकुन्द नरवणेले नेपाल र भुटानजस्ता साना छिमेकी देशलाई चीनले आक्रामक कूटनीति र उत्तेजक रणनीतिमार्फत् डर देखाइरहेको टिप्पणी गरेका छन् ।

नरवणेले आफ्नो संस्मरण ‘फोर स्टार्स अफ डेस्टिनी’ मा उक्त कुरा उल्लेख गरेका हुन् । ‘उसले (चीन) आक्रामक कूटनीति र उत्तेजक रणनीतिको प्रयोग गरी नेपाल र भुटानजस्ता साना छिमेकीलाई डर देखाइरहेको छ,’ बीबीसीले आफ्नो समाचारमा नरवणेको संस्मरणलाई उद्धृत गरेको छ ।

चीनले भारतसँग पनि ‘आक्रामक कूटनीति’ र ‘उत्तेजक रणनीति’ अपनाएको उनको आरोप छ । यसैकारण सन् २०२० मा पूर्वीलद्दाखमा भारतीय सेना चिनियाँ सेनामाथि जाइलागेको उनको बुझाइ छ । सन् २०२० जुनमा गलवान घाँटीमा भएको भारतीय र चिनियाँ सेनाबीचको झडपमा २० जना सैनिक मारिएका थिए । नरवणेले उक्त दिनलाई आफ्नो करियरको सबैभन्दा दुःखद दिन भनेका छन् ।

नरवणे ३१ डिसेम्बर २०१९ देखि ३० अप्रिल २०२२ सम्म भारतीय सेनाको प्रमुख रहेका थिए । उनको कार्यकालको अधिकांश समय चीनसँगको सीमा विवादमा केन्द्रित रहेको थियो ।