बारूद ज्वलनशील पदार्थ हो । यसको अग्रता विष्फोटक पदार्थमा हुन्छ । आगोको सम्पर्कमा आउँदा यो विष्फोट हुन्छ । प्राविधिक रूपमा बारूद विष्फोटक पदार्थ मात्र हो । तर यसले मानव समाज विकास र गतिमा दिएको योगदानका आधारमा यो हाल विश्वव्यापी रहेको पुँजीवादको मूल खम्बा हो ।
सुरूमा मानिसको जीवन सुखी बनाउन र आयु लम्ब्याउने औषधीको खोजी गर्दा बारूदको आविष्कार हुन गएको थियो । यो खोज नवौं शताब्दीमा चीनमा गरिएको थियो । चीन त्यति बेलामा नै खोज र आविष्कारमा जुटेको थियो । बौद्धमार्गीको थलो चीन जीवन र जगतका लागि योगदान दिन अघि बढेको थियो ।
सबै खाले अनुसन्धान बौद्धमार्गीहरूको अगुवाइमा चलिरहेको थियो । भिक्षुहरू मानिसको सुख, समृद्धि र अमनचयनको खोजीमा लागिपरिरहेका थिए । त्यसै बेलामा औषधीय कामका लागि बारूद अस्तित्वमा आयो ।
पोटासियम नाइट्रेट, सल्फर र कोइला मिसाएर बनेको यौगिक हो बारूद ! यो अग्निमैत्री हुन्छ । आगोको सम्पर्कमा आउँदा छिटो सल्कने, पड्कने र वायुमण्डलमा धुवाँको मुस्लोमा परिणत हुन्छ ।
प्रयोग र उपयोगको क्रममा यसको प्रभाव जीवनशील भन्दा पनि बढी विनाशकारी र डरलाग्दो हुने देखिएपछि यसलाई दुरूपयोग गर्न थालियो । आविष्कारको छोटो समयमै यो लडाइँमा प्रयोग गरिने अस्त्रका रूपमा दर्ज गरियो ।
यसको प्रयोग सुरूमा मङ्गोलियनहरूले लडाइँमा गरे । समयक्रमसँगै ठूला ठूला युद्ध जितेर राज्य विस्तार पनि गरे । यसपछि बारूदको प्रचार विश्वभर धुँवा र आगोका रूपमा हुन गयो ।
चीनमा नवौं शताब्दीमा आविष्कार भएको बारूद १३ औं शाब्दी पुग्दा नपुग्दै अरब देशमा पुगिसकेको थियो । बारूद विष्फोटक ब्यापारको वस्तु बनिसकेको थियो । यति बेलासम्म यो लडाकू तथा सिकारीको हातमा पुगिसकेको थियो ।
सुरूमा आयात गरिने गरिएको बारूदको व्यापार फस्टायो । तर पछि बारूद बनाउन थालियो । बारूद बनाउने ज्ञानको विस्तार हुन थाल्यो । तर यसको प्राविधिक सूत्र भने पछि मात्र बनेको थियो । आविष्कार गरिएको देश चीनमा यसको सूत्र बनेको पाइँदैन ।
बारूद अरबमा पुगेपछि मात्र यसको प्राविधिक सूत्र निर्माण भएको देखिन्छ । अरबियनहरूले बारूद बनाउँदा १ भाग सल्फर, ३ भाग कोइला, ९ भाग पोटासियम नाइट्रेट मिसाएर बारूद बनाउन थालिसकेका थिए ।
प्राविधिक सूत्र निर्माण भएपछि बारूदले ब्यापकता आयाम ग्रहण गर्दै गयो । बारूद विश्वभर फैलन थाल्यो, प्राविधिक सूत्रका आधारमा । यसको बिस्तारको क्रममा १४ औं शताब्दीमा प्राविधिक सूत्र युरोपमा पुगिसकेको थियो ।
पछि त यसमा गुणत्मक सुधार हुन गयो । बारूद निर्माणको सूत्रमा एकरूपता कायम हुन गयो । यसले विश्वभर एउटै ‘स्ट्याण्डर्ड मापदण्ड’ धारण गर्यो । यो भनेको सल्फर, कोइला र पोटासियम नाइट्रेटको १०ः१५ः७५ को अनुपात थियो ।
सुरूमा चीन, कोरिया, भारत हुँदै मध्यपूर्वमा पुगेको बारूद पश्चिमा देशहरू युरोप अमेरिकामा पुगेर ज्वालामय विष्फोटका रूमा विकसित हुन गयो । यसले एशियातिर फर्केर जापानको हिरोसिमा र नागासाकी जलाएर ध्वस्त पार्यो ।
सुरूमा भरूवा बन्दुकमा राखेर प्रयोग गरिने बारूदको स्वरूप परिमार्जित र विकसित हुँदै जाँदा यसले आधुनिक शस्त्रास्त्रको विकाससम्म पुर्यायो । दुनियाँ आज आणविक होडबाजीमा छ ।
आणविक बम, रकेट, हुँदै अहिले बारूद चन्द्रमा, मङ्गल ग्रहहुँदै सूर्यको नजिक पुग्दैछ । सूर्य आफैमा आगो हो । यसले आगत विष्फोटक र भयाबह बनाएको छ । कतै नाटककार वालकृष्ण समले भने झैं ‘ज्ञान मर्दछ हाँसेर, रोइ विज्ञान मर्दछ’ भन्ने पो हुने हो कि !