• जेष्ठ ७ २०८३, बिहीबार

बालकृष्ण खाँणको निवेदनमाथि सुनुवाइ हुँदै, छुट्लान् कि थुनामै रहलान् ?

मंसिर २८ २०८०, बिहीबार

काठमाडौं । पूर्व गृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता बालकृष्ण खाणको नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामाथि आज उच्च अदालत पाटनमा सुनुवाइ हुँदै छ। उच्च अदालतमा न्यायाधीश कृष्णराम कोइरालाको एकल इजलासमा सुनुवाइ भइरहेको छ ।

पुर्पक्षका लागि थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध दायर पुनरावलोकन निवेदनको फैसलामा २ जना न्यायाधीशहरुको मत बाझिएपछि खाणको मुद्दा एकल न्यायाधीशको इजलासमा पेस गरिएको हो।

नक्कली भुटानी शरणार्थी प्रकरणका अन्य अभियुक्तको हकमा उच्च अदालत पाटनका २ जना न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले मंसिर १५ गते सर्वसम्मत तरिकाले फैसला सुनाए पनि खाणलाई थुनामुक्त गर्ने वा पुर्पक्षका थुनामै राख्ने भन्नेबारे मत बाझिएको थियो। दुई न्यायाधीशबीच राय बाझिएकाले तेस्रो न्यायाधीशकोमा मुद्दा पेस भएको हो।

खाणको मुद्दा कुन न्यायाधीशको इजलासमा सुनुवाइ हुन्छ भन्ने कुरा केही समयपछि गोलाबाट टुंगो लाग्ने छ। बिहीबार सुनुवाइ गर्ने न्यायाधीशले यसअघिका २ मध्ये जुन न्यायाधीशको रायलाई समर्थन गर्छन्, त्यही आदेश कार्यान्वयन हुनेछ। धरौटीमा रिहा गर्नेमा सर्मथन गरे खाण रिहा हुनेछन् भने थुनामै राख्नेमा सहमत भएमा थुनामै रहन्छन्। यदि बिहीबार सुनुवाइ गर्ने न्यायाधीशले अघिका दुई बाहेक तेस्रो राय दिएमा पुनरावलोकन निवेदन सुनुवाइका लागि सर्वोच्च अदालतको एकल इजलासमा पुग्नेछ।