काठमाडौं । भारतको मध्यप्रदेशमा सम्पन्न विधानसभा निर्वाचनको नतिजा सार्वजनिक भइसकेको छ । नतिजा सार्वजनिक भएपछि एसोसिएसन फर डेमोक्रेटिक रिफर्मले एउटा प्रतिवेदन सार्वजनिक गरेको छ ।
प्रतिवेदनमा मध्यप्रदेशका निर्वाचित २३० विधायकमध्ये ९० जनामाथि आपराधिक मुद्दा चलिरहेको उल्लेख छ । अर्थात् ३९ प्रतिशत सांसदविरुद्ध आपराधिक मुद्दा चलिरहेको छ ।
ती ९० मध्ये ३४ जनाको मुद्दा गम्भीर प्रकृतिका छन् । यदि, उनीहरू दोषी ठहर भए पाँच वर्षको सजाय हुनेछ । प्रतिवेदन अनुसार ९० जना विधायकले नै आफूमाथि चलिरहेको आपराधिक मुद्दाका बारेमा जानकारी दिएका थिए । सन् २०१८ मा सम्पन्न निर्वाचनमा यस्ता विधायकको संख्या ९४ थियो । पाँच वर्षपछि अहिले भएको निर्वाचनमा यो संख्या ९० मा झरेको हो ।
आपराधिक मुद्दा खेपिरहेका ९० विधायकमध्ये ५१ जना भारतीय जनता पार्टी र ३८ भारतीय कांग्रेसका रहेका छन् । एक विधायक भारतीय आदिवासी पार्टीका छन् । मध्यप्रदेशमा निर्वाचितमध्ये २०५ विधायक अर्थात् ८९ प्रतिशत करोडपति छन् । करोडपति विधायकमा १४४ जना भारतीय जनता पार्टी र ६१ कांग्रेसका रहेका प्रतिवेदनमा उल्लेख छ ।
गएको विधानसभा निर्वाचनमा भन्दा यो पटक करोडपति विधायकको संख्या बढेको छ । २०१८ मा भएको निर्वाचनमा १८७ करोडपति निर्वाचित भएका थिए ।
बीबीसी हिन्दीबाट ।