• फाल्गुन २६ २०८२, मंगलवार

भारतको मणिपुरमा हिंसात्मक झडप : थप १३ जनाको मृत्यु

मंसिर १९ २०८०, मंगलवार

एजेन्सी । उत्तरपूर्वी राज्य मणिपुरमा सोमबार भएको हिंसात्मक झडपमा परी १३ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

इम्फालको राजधानी मणिपुरबाट करिब ६० किलोमिटर दक्षिणपूर्वमा पर्ने तेङनौपाल जिल्लाको लेइथु इलाकामा गोली चलेको सूचना प्राप्त भएपछि अर्धसैनिक बल आसाम राइफल्सले खोजी अभियान सुरु गरेको थियो ।

‘सेनाले लेइथु गाउँमा १३ वटा शवहरू भेट्टाएको छ । सुरक्षाकर्मीले शवको छेउमा कुनै हतियार फेला पारेनन्,’ एक अधिकारीलाई उद्धृत गर्दै हिन्दुस्तान टाइम्सले लेखेको छ ।

गैर–आदिवासी मेइती समुदायलाई शिक्षा र सरकारी जागिरमा आरक्षण प्रदान गर्ने अनुसूचित जनजातिको दर्जामा समावेश गरिएको विरोधमा भएको जनजातीय प्रदर्शनका क्रममा राज्यमा ३ मेदेखि ठूलो मात्रामा हिंसा भड्किएपछि मणिपुर तनावग्रस्त बनेको छ ।

बहुसङ्ख्यक मेइती समूह र आदिवासी कुकी अल्पसङ्ख्यकबीचको जातीय द्वन्द्वका कारण यो बवर्ष ६० हजार विस्थापित भएका छन् । राज्यमा प्रदर्शनकारीले घर र पसलहरूलाई लक्षित गरी तोडफोड र आगजनीसमेत गरेका थिए ।

प्रहरीले गत १५ भदौमा सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत १५ जेठदेखि हालसम्म यस क्षेत्रमा १ सय ७५ जनाको मृत्यु भएको छ । तथ्याङ्कअनुसार यो अवधिमा १ हजार ११८ जना घाइते भएका छन् । यस्तै, ३३ जना बेपत्ता भएका छन् ।