• मंसिर ११ २०८१, मंगलवार

नेपालको संस्कृतिमा लक्ष्मीपूजाको महत्व

कार्तिक २६ २०८०, आईतवार

नेपालमा परापूर्वकालदेखि चल्दै आएका र मनाउँदै आइएका परम्परागत धर्म, संस्कृति, संस्कार र चाडपर्वले नै विश्वमा नेपाललाई एक सांस्कृतिक देशको रुपमा चिनारी दिंदै आइरहेका छ भने नेपाल एक चित्रमय चाड पर्वको देश हो भनि चिनाउन पनि सफल भइसकेको छ । नेपालको मुख्य संस्कृति भन्नु नै नेवारी संस्कृति हो वर्षभरीमा पर्ने विभिन्न चाडपर्व र जात्राहरु नेवारहरुले नै आफ्नो संस्कार र संस्कृति अनुसार चलाउँदै आइरहेका छन् ।

ती विभिन्न चाडपर्वमध्ये नेवारहरुले आफनो संस्कार र संस्कृति अनुसार मनाउँदै आइरहेका तिहार पर्वको पनि अत्यन्तै महत्व छ । त्यसमा पनि लक्ष्मीपूजा र म्हः पूजा(आत्मपूजा) अनि भाई टीकाको त झन बढी महत्व छ । यसलाई जति वर्णन गरे पनि पुग्दैन । हरेक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितियासम्म पाँच दिन मनाइने यो तिहारको तेस्रो दिन अर्थात् कार्तिक कृष्ण औंशीका दिन धनधान्यकी देवी लक्ष्मीलााई पूजा गरिन्छ ।

लक्ष्मी पूजाका दिन विहान सबेरै गाईलाई लक्ष्मी मानेर पूजा गरिन्छ भने बेलुका लक्ष्मीको पूजा गरिन्छ । कुनै पनि धार्मिक कार्य र संस्कार गर्दा गाईको गोबरले घरको भूईंमा लिपेर गौमुत्र छर्केर चोखो पार्नुपर्छ । त्यस्तै ठूलाठूला धार्मिक कार्यमा गाईको दुध, दही, घिउ, गोबर र गोमुत्र नभई हुन्न । जनै पूर्णिमाका दिन हातमा बाँधिराखेको रक्षासूत्र लक्ष्मीपूजाका दिन गाईको पुच्छरमा बाँधी दिएमा मरेपछि स्वर्गमा जाने बाटोमा पर्ने बैतरणी नदी गाईले तारिदिन्छिन् भन्ने धार्मिक मान्यता रही आएको छ ।

गाईलाई गौमाताको रुपमा पनि मान्दै आएको पाइन्छ । खेतीमै निर्भर भइरहेका हाम्रो जस्तो देशमा त गाईको महत्व झन बढी छ । गाईको गोबर खेतमा मल राख्ने गरिन्छ भने गोमुत्रले बालीनालीमा लाग्ने किरा मार्न किटनाशकको काम गर्दछ । त्यस्तै गाईको दुध अत्यन्तै पोषिलो भएकोले खेती गर्नुपर्ने किसानहरुका लागि तागत दिइरहेको हुन्छ भने बालबालिकाहरुलाई पनि गाईको दुध खुवाएर हुर्काइ बढाउन धेरै मद्धत गरिरहेको हुन्छ ।

यसरी अत्यन्तै महत्वपूर्ण भएकैले गाईलाई लक्ष्मीमाता गौमाता भनि मान्दै आइरहेको हो । गौहत्या महापाप हो भनि हाम्रो देशमा गौहत्यालाई मानिसकै हत्या गरे सरह कानूनी व्यवस्था गरिएको छ । गाईको सम्बन्ध यमराज र यमलोकसँग पनि छ भनिन्छ । यसरी विभिन्न महत्व भएकी गाईलाई लक्ष्मीपूजाका दिन विहान सबेरै फूल अक्षता टीका लगाई पूजा गर्दै फूलको माला पहि¥याउँदै सागपात र फलफूल, पिठो आदि खुवाउने गरिन्छ ।

लक्ष्मी पूजाका दिन विहान गााईको पूजागरी सकेपछि सिंगै घरको सरसफाई गरेर पवित्र पारी लक्ष्मी पूजाको तयारी गरिन्छ । लक्ष्मी पूजा गर्ने दिन कार्तिक कृष्ण औंशीको बेलुका देवी लक्ष्मीलाई अँध्यारो नहोस् भनि विभिन्न किसिमका बत्ति बालेर झिलिमिली पार्दै दीप मालिका बनाई घरको आगनदेखि नै चेलीबेटीले गाईको गोबरले लिपि चोखो जल छर्कंदै कुचोले लक्ष्मीको स्वागत गर्दै पूजा कोठामा भित्र्याउने गरिन्छ ।

कतिपयले त देवी लक्ष्मीको पाइलाको चित्र बनाएर आँगनदेखि पूजा कोठामासम्म लगिएको हुन्छ । नेवारहरुले पुज्ने देवी लक्ष्मी नेवार संस्कृति अनुसार आफनै पनको हुन्छ । नेवारहरुले लक्ष्मी देवीको मूर्ति पूजा गर्दैनन् तर पुं (चित्रकार)ले लेखी राखेका लक्ष्मीको चित्रलाई पूजा गर्दछन् । परापूर्वकालदेखि चल्दै आएको यो चलन अझसम्म रहेको छ ।

हुन त पसलमा विभिन्न किसिमका लक्ष्मीका चित्र फोटोहरु बेचिराखेका हुन्छन तर नेवारहरुले भने पुं चित्रकारहरुले नै लेखिराखेका लक्ष्मीका चित्र ल्याएर पूजा गर्ने गर्दछन् । चार हात भएकी अर्ध पद्मासनमा बसी एउटा खुट्टाले कछुवाको ढाडमा टेकेकी, दाहिने हातमा ज्वला न्हयाय्कं (परम्परागत ऐना) र देब्रे हातमा सिन्हः मू (परम्परागत सिंदुरको बट्टा) लिएकी हुन्छिन भने अरु दुई हातमा अभय र वरमुद्रा भएकी लक्ष्मीदेवीलाई नै पूजा गर्ने गर्दछन् ।

लक्ष्मी देवीका दायाँ बायाँ कुबेर र ख्याक हुन्छन् । नेवारहरुले पूजा गर्ने यस्ती लक्ष्मीदेवी रातो वर्णकी हुन्छिन् । रातो भन्नु नै अग्नि र शक्तिको प्रतीक हो । लक्ष्मीदेवीको पाउ मुनि बस्ने कछुवालाई सहनशीलताको प्रतीकको रुपमा लिइन्छ । त्यस्तै धनको पोको कुम्ल्याएर बोकिरहेको कुबेरलाई धनसम्पतिका मालिकको रुपमा लिइएको छ भने ख्याकलाई ढुकुटीको पाले रक्षकको रुपमा लिइएको छ । लक्ष्मी देवीको गणका रुपमा बसिरहेको कुबेर र ख्याक भएका लक्ष्मी देवीलाई नै लक्ष्मी पूजाका दिन नेवारहरुले आफनै मौलिकरितले पूजा गर्ने चलन छ ।

नेवारहरुको लक्ष्मीपूजाका दिन पूजा गर्दा बसिरहेकी लक्ष्मीको चित्रमा पूजा गर्छन् भने अन्य जातिकाले उभिरहेकी लक्ष्मी देवीको चित्रमा पूजा गर्ने गरेको देखिन्छ । बसिरहेकी लक्ष्मी गृहलक्ष्मी हुन् भने उभिरहेकी लक्ष्मी राज्यलक्ष्मी हुन् । बसिरहेकी गृहलक्ष्मीले गृहस्थी स्थिर गराउने गरी विभिन्न पेशा, खेतीपाती, व्यापार, व्यासाय र शीप मूलक कार्यमा दक्ष एवं सम्पन्न गराउँछिन् भने उभिरहेकी लक्ष्मी राज्यलक्ष्मीले राजकाज सम्बन्धी, शासन र प्रशासन सम्बन्धी कार्यमा दक्षता प्रदान गरी सम्पन्न गराउँछिन् भन्ने मान्यता छ ।

नेवारहरुले यसरी पुजिंदै आएकी लक्ष्मीदेवी महालक्ष्मीकै साक्षात रुप हुन् । महालक्ष्मीको अर्को भयंकर रुप महिषमर्दिनीले महिषासुरलाई वध गर्दा रक्सी सेवन गरी मात्तिएकी देवी भएकीले नेवारहरुले लक्ष्मी देवीको पूजा गर्दा राँगाको मासुको, छ्वयला, अन्डा लगायत समय्बजी र जाँडरक्सी पनि चढाई सगुन दिने गर्छन् । हुन त महिषमर्दिनी भगवतीले महिषासुरलाई वध गर्नु अघि यसरी नै सगुन लिएर रक्सी चुस्की लिंदै गर्जगर्ज कतिञ्जेल गर्जिन्छौ म चुस्की लिंदैछु केही बेरमै तेरो वध गर्नेछु भनि कुर्लिएकी थिइन् । काठमाडौंको न्यूरोड विशाल बजारस्थित महालक्ष्मीको मन्दिरमा महिषमर्दिनीको मूर्ति रहेको छ । त्यस्तै ललितपुरको महालक्ष्मी स्थानमा पूजा गरिंदै आएकी महालक्ष्मीको मूर्ति पनि महिषमर्दिनीकै रहेको छ । यी महालक्ष्मी देवीलाई बलि दिने चलन छ ।

हरेक वर्ष कार्तिक कृष्णऔंशीका दिनमै लक्ष्मीलाई पूजा गर्ने र विभिन्न ठाउँमा झिलिमिली पार्दै बत्ति बाल्दै वातावरण नै रमणीय पारी मनाउने चलन कहिलेदेखि आएको हो भन्ने कुरामा एउटा पौराणिक किंवदन्तीको आधार पनि रहेको छ । यो दिन रात्रीमा मत्र्यलोकको गतिविधि थाहा पाउन लक्ष्मीदेवी आउनु हुने रहेछ । अनि जहाँ जहाँ बत्तिको उस्ज्यालो झिलिमिली भैरहेको छ त्यहाँ त्यहाँ गई आशन ग्रहण गर्ने रहेछ । धन सम्पति र ऐश्वर्यका देवी लक्ष्मीलाई अँध्यारो र फोहर ठाउँ मन पर्दैन । त्यसैले लक्ष्मी देवीलाई आवहान गरी आफनो घरमा भित्र्याउन चारैतिर झलमल हुने गरी बत्ति बाली लक्ष्मीदेवीलाई पूजा गर्ने चलन परापूर्वकालदेखि चल्दै आएको हो । यसका बारेमा सम्बन्धित एउटा पुरानो किंवदन्ती कथा पनि छ ।

परापूर्वकालमा एउटा गरीव ज्यापु र उसकी स्वास्नी मात्र रहेछन् । यी दम्पती अत्यन्तै गरीव भएकाले गरीवीबाट कसरी छुटकारा पाउने होला भनि रातदिन चिन्तित भइरहन्थे । उनीहरु अर्काको खेतको छेउमा एउटा सानो छाप्रो बनाएर बसेका रहेछन् । दिनहुँ काम गरेर दिनहुँ खान पनि धौधौ भएकाले उनीहरु ज्यादै दुःखी भइरहेका थिए ।

एकपटक त्यही देशका रानीले दरबारको कौशीमा नुहाउन आफनो गलामा भएको चन्द्रहार फुकालेर कौशीकै डिलमा राखिन् । रानीले नुहाइ रहेकै बेलामा एउटा काग आएर त्यो हिराको हार देखेर ट्याप्प थुतुनोको चुच्चोले टिपेर उडेर जान्छ । त्यो काग जाँदा जाँदै त्यही ज्यापुको छाप्रोको माथि पुग्दा छाप्रोको छानामा एउटा मरेको सर्प देखेर त्यस हीराको हार त्यहीं छोडेर मरेको सर्प टिपेर जान्छ । आफनो छाप्रोको छानामा हीराको हार देखेर ज्यापु ज्यादै खुशी हुन्छ । तर उसकी स्वास्नीले भने उक्त हार घरमा राख्न मान्दिन ।

बरु यो हार राजालाई चढाउन लानु भन्छिन् । किन भने गरीबको घरमा मूल्यवान सामान इमान्दीपूर्वक कमाई ल्याएकै भएता पनि चोरेर ल्याएको ठान्छन् । त्यसैले यो हार राजालाई नै दिन लानु भन्छिन् । आफनी स्वास्नीको सल्लाह बमोजिम त्यस ज्यापुले हीराको हार राजालाई बुझाउन जान्छन् । राजाकहाँ गएर राजालाई उक्त हार चढाउने बित्तिकै रानीको हराएको हार पाएको र ज्यापुको इमान्दारी देखेर अत्यन्तै खुशी भई राजाले के माग्छौ भने पछि त्यस ज्यापुले आफनी स्वास्नीले सिकाएर पठाए जस्तै राजालाई विन्ति गर्दै भन्छ– महाराज मलाई धन सम्पति केही चाहिंदैन । महाराजले बकस दिने हो भने आज रातभरका लागि मेरो घरमा बाहेक दरबार सहित देशभर कतै पनि बत्ति नबालोस्, भन्ने उर्दी जारी बक्सियोस ।’

ज्यापुका अनौठो माग सुनेर राजाले पनि ल त्यस्तै गर्नु भनि उर्दी जारी गरिदिन्छ । त्यस दिन कार्तिक कृष्ण औंशी परेको रहेछ । अनि रात्रीमा श्रीलक्ष्मी घुम्न आएकी बेलामा त चारैतिर अन्धकार ज्यापुको घरमा मात्र उज्यालो । ज्यापुको घरमा भने ज्यापुनीले झिलिमिली बत्ति बाली विभिन्न किसिमका रोटी बनाई लक्ष्मीलाई स्वागत गर्न पर्खि बसेकी रहिछन् । त्यो देखेर धनधान्यकी देवी अत्यन्तै हर्षित भई तिमीले यसरी बत्ति बालेर मेरो स्वागत गर्याै त्यसैले आजदेखि म तिम्रै घरमा स्थिर भएर बस्छु भनेर बसिछिन् ।

अनि त के चाहियो ज्यापुको घरमा औलादौला धन सम्पति भरिपूर्ण भएछ । यो कुरा चारैतिर फैलियो अनि राजाको कानमा पनि पर्यो । अनि त्यही बेलादेखि कार्तिक कृष्णऔंशीका दिन देशभरी नै दीपावली गरेर लक्ष्मीको पूजा आराधना गर भनि राजाले परम्रपरा नै बसालेछ । उही बेलादेखि लक्ष्मीको पूजा गर्ने चलन भएको हो भनिन्छ । अनि त्यही ज्यापुले देखेको लक्ष्मीदेवीको रुप र लक्ष्मी बसिरहेको आशनको बारेमा ज्यापुले बताएको आधारमा पुँ (नेवार चित्रकार) ले लक्ष्मीको चित्र बनाएका हुन् भनिन्छ ।