किएभ । जन्मदिनको उपहारस्वरूप दिइएको ग्रिनेड विस्फोट हुँदा युक्रेनी सैनिकका प्रमुख भ्यालेरी ज्यालुज्नीका सहयोगीको मृत्यु भएको छ । ज्यालुज्नीका सहयोगी मेजर जेनेडी चास्त्यकोभको सोमबार जन्मदिन थियो ।
जन्मदिनको कार्यक्रममा सहभागी हुन आएका एक साथीले दिएको ग्रिनेड विस्फोट हुँदा उनको मृत्यु भएको युक्रेनका आन्तरिक मन्त्रीलाई उद्धृत गर्दै सिएनएनले उल्लेख गरेको छ । घटनाबारे अनुसन्धान भइरहेको आन्तरिक मन्त्री ल्होर क्लिमेन्कोले टेलिग्राममार्फत् जानकारी दिएका छन् । ज्यालुज्नीले पनि घटनाको पुष्टि गर्दै मृत्यु भएका जेनेडी आफ्नो अत्यन्त मिल्ने साथीसमेत रहेको बताएका छन् ।
युक्रेनका आन्तरिक मन्त्रालयका अनुसार सोमबार जन्मदिन मनाइरहँदा जेनेडीलाई एउटा बक्स उपहार दिइएको थियो । त्यसमा एक बोत्तल मदिरा र ६ वटा ग्रिनेड थियो । आगन्तुकहरूबाट उपहार संकलन गरिरहेका जेनेडीका साथमा उनका १३ वर्षीय छोरा पनि थिए । प्राप्त भएको उपहार जेनेडीका छोराले खोलेर हेरे जसमा ग्रिनेड थियो । उनले बक्सबाट ग्रिनेड निकालेर त्यसको रिङमा औंला राखेर घुमाउन थाले ।
उपहारमा ग्रिनेड रहेको र त्यसलाई छोराले झिकिसकेकोबारे जेनेडी अनभिज्ञ थिए । छोराले ग्रिनेडको रिङमा औंला राखेर घुमाएको देखेपछि आत्तिँदै उनले छोराबाट ग्रिनेड खोसे । छोराबाट खोस्ने क्रममा ग्रिनेडबाट रिङ छुटेपछि विस्फोट भएको मन्त्री क्लिमेन्कोले बताएका छन् ।
विस्फोटमा परी जेनेडीको घटनास्थलमै मृत्यु भएको र उनका १३ वर्षीय छोरा गम्भीर घाइते भएका छन् । उनको उपचार जारी रहेको किएभका क्षेत्रीय प्रहरीलाई उद्धृत गर्दै सिएनएनले उल्लेख गरेको छ ।
मन्त्री क्लिमेन्कोले सिएनएनलाई बताए अनुसार घटनाको अनुसन्धानका क्रममा प्रहरीले जेनेडीलाई उपहारस्वरूप दिइएकै प्रकृतिको ग्रिनेड उनका एक साथीसँग भेटेको छ । प्रहरीले यसमा अनुसन्धान भइरहेको बताएपनि युक्रेनी गृह मन्त्रालयले प्रारम्भिक जानकारीका आधारमा यसलाई दुर्घटना भनेको छ ।
‘हामीले पाएको जानकारी अनुसार यसलाई लापरबाहीका कारण भएको दुर्घटना मान्न सकिन्छ,’ युक्रेनका आन्तरिक मन्त्रालयकी प्रवक्ता मारियाना रेभाले भनिन्। घटनास्थलबाट जुट्ने प्रमाणहरूका आधारमा कुन प्रकृतिको मुद्दा लाग्छ भन्ने निर्धारण हुने बताइन् । विस्फोटमा उनको मृत्यु भएपछि सैनिक कमान्डर ज्यालुज्नीले जेनेडी आफ्ना लागि एक बलियो काँध रहेको बताएका छन् । जेनेडीले आफ्नो जीवन युक्रेनको सशस्त्र बल र रूसी आक्रमणविरूद्ध लड्न पूर्णरूपमा समर्पित गरेको पनि ज्यालुज्नीले टेलिग्राममा लेखेका छन् । जेनेडीका पत्नी र चार छोराछोरी थिए । दुर्घटनामा छोरीलाई पनि सामान्य चोट लागेको र उनीहरूको उपचार भइरहेको मन्त्रालयकी प्रवक्ता रेभालाई उद्धृत गर्दै सिएनएनले उल्लेख गरेको छ ।