काठमाडौँ । आईसीसी टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा आज युनाइटेड अरब इमिरेट्स (युएई) र नेपालबिच प्रतिस्पर्धा हुँदैछ। विश्वकप छनोटका लागि दुवै टिमलाई जित्नै पर्ने दबाब छ।
नेपालले यसअघि पहिलो र अन्तिम पटक सन् २०१४ मा भएको टी–२० विश्वकप खेलेको थियो। त्यसयता विश्वकपका तीन संस्कण सम्पन्न भए पनि नेपालले छनोट चरण पार गर्न सकेको थिएन।
यसअघि गत संस्करणका लागि भएको छनोटमा यूएई नै बाधक बनेपछि नेपालको सम्भावना समाप्त भएको थियो। सन् २०२२ को फेब्रुअरीमा ओमानमा भएको आईसीसी ट्वान्टी–२० विश्वकप क्वालिफायर ‘ए’ फाइनल पुग्ने दुई टिमले विश्वकप खेल्ने प्रावधान थियो। नेपाल समूह ‘बी’ को सबै खेल जित्दै विजेताको रूपमा सेमिफाइनल आएको थियो। यूएई भने समूह ‘ए’ को उपविजेता बन्दै अन्तिम चारमा आएको थियो। र, नेपाललाई ६८ रनले हराउँदै विश्वकपमा स्थान बनाएको थियो।
त्यसबेला यूएईले दिएको १७६ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल १८.४ ओभरमा १०७ रनमै अलआउट भएको थियो। एकपटक फेरि यही दुई टिम विश्वकप छनोटको निर्णायक खेलमा शुक्रबार भिड्दै छन्। प्रावधान २०२२ को जस्तै छ। फाइनल पुग्ने दुई टिमले विश्वकप खेल्नेछन्। यसपटक समूह चरणको नतिजा भने फरक छ।
अहिले यूएई समूह ‘बी’ को विजेता र नेपाल समूह ‘ए’ को उपविजेताको रूपमा सेमिफाइनल आएका हुन्।
मूलपानीस्थित क्रिकेट मैदानमा हुने खेलमा दुवै टिम जितको लक्ष्यसहित मैदान प्रवेश गर्दै छन्। खेल बिहान ११ बजेदेखि सुरु हुनेछ ।