• मंसिर १६ २०८१, आईतवार

फिलिस्तिनी र इजरायलीको जीवन रक्षाको माग गर्दै नेपालस्थित राष्ट्रसंघ कार्यालय अगाडी प्रदर्शन

कार्तिक १४ २०८०, मंगलवार

काठमाडौं । मानवअधिकार तथा शान्ति समाजमा आबद्ध व्यक्तिहरुले मंगलबार नेपालस्थित संयुक्त राष्ट्रसंघ कार्यालय अगाडि प्रदर्शन गरेका छन् । आतंकवाद र युद्धविरुद्ध अभियानका क्रममा राष्ट्रसंघको कार्यालय पुल्चोकअगाडि आधा घण्टा प्रदर्शन गरिएको समाजद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

‘युद्धग्रस्त गाजामा नागरिकहरूको जीवनरक्षाको लागि प्रभावकारी कदम चाल्न र हमासले बन्धक बनाएका विपीन जोशीलगायत सबै बन्धकहरूको शीघ्र रिहाइका लागि पहल गर्न संयुक्त राष्ट्रसंघलाई आग्रहसहित प्रदर्शन भएको हो,’ विज्ञप्तिमा भनिएको छ ।
समाजले हमासको आतंक र इजरायलको बर्बरताको निन्दा गर्दै आएको छ । हमासको आतंक र इजरायलको बर्बरता दुवै विश्व शान्तिका निम्ति खतरा भएको समाजले जनाएको छ ।

प्रदर्शनमा समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति रामकृष्ण बराल, सल्लाहकार उत्तम पुडासैनी, पूर्वसभापतिहरू होमकान्त चौलागाईं र डा. गंगाधर अधिकारी, महासचिव रेनुका पौडेल लगायतको उपस्थिति थियो ।

सोही क्रममा शान्ति समाजका तर्फबाट संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई लेखिएको पत्र नेपालस्थित राष्ट्रसंघको कार्यालयका अधिकारीलाई हस्तान्तरण गरिएको थियो । यस्तै, द्वन्द्वपीडित समुदायका तर्फबाट पनि न्यायका निम्ति ध्यानाकर्षण गराइएको थियो ।