• फाल्गुन २६ २०८२, मंगलवार

इरानी विदेशमन्त्री र हमासका नेताको रुसमा के कुरा भयो ?

कार्तिक १० २०८०, शुक्रबार

मस्को । रुसी समाचार एजेन्सी टासले शुक्रबार इरानका राजनीतिक मामिलाका लागि उप विदेशमन्त्रीले राजधानी मस्कोमा हमासका प्रतिनिधिहरूसँग भेट गरेको बताएको छ ।

एजेन्सीका अनुसार यसअघि बिहीबार इरानका राजनीतिक मामिलाका लागि उपविदेशमन्त्री अली बगेरी कानीले हमास प्रतिनिधिमण्डलको नेतृत्व गरिरहेका अबु मारजुकलाई भेटेका थिए । उनले मारजुकलाई बैठकमा इरानको प्राथमिकता युद्धविराम र गाजामा मानवीय सहायता पठाउने रहेको बताए ।

बिहीबार इरानी मन्त्रीले रुसका उपविदेशमन्त्री मिखाइल बोगडानोबसँग पनि भेट गरेका थिए । समाचार एजेन्सी एपीका अनुसार इजरायलको विदेश मन्त्रालयले हमासका प्रतिनिधिहरूलाई रुसको निमन्त्रणाको आलोचना गरेको छ । इजरायलको विदेश मन्त्रालयले हमासका मानिसहरूलाई मस्कोमा आमन्त्रित गरेर रुसले “आतंकवादलाई समर्थन गरेको“ जनाएको छ । यता रुसले भने सबै पक्षसँग सम्पर्क राख्नु जरुरी रहेको बताएको छ ।

समाचार एजेन्सी एपीले बिहीबार भएको बैठकमा रुस, इरान र हमासका प्रतिनिधिहरू एकसाथ भेटे वा भएनन् भन्ने स्पष्ट भइनसकेको बताएको छ । एजेन्सीका अनुसार राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले रुसको भ्रमणका क्रममा हमाससँग कुनै सम्पर्क नभएको बताएका छन् ।

रुसी विदेश मन्त्रालयले इरानी मन्त्रीसँगको वार्ता गाजामा युद्ध अन्त्य गर्ने र प्यालेस्टिनीहरूलाई मानवीय सहायता उपलब्ध गराउनमा केन्द्रित रहेको बताएको छ । छुट्टै भेटमा रुसका उपविदेशमन्त्रीले हमासका वरिष्ठ प्रतिनिधि बसिम नइम र मुसा अबु मारजुकसँग पनि भेटेर बन्धकहरूलाई रिहा गर्ने विषयमा कुराकानी गरेका थिए ।