• फाल्गुन २६ २०८२, मंगलवार

लेबनानबाट पनि इजरायलमाथि रकेट हमला हुन थालेपछि सुरक्षा सतर्कता अपनाउन नेपाली दुतावासको आग्रह

कार्तिक ५ २०८०, आईतवार

काठमाडौँ । इजरायलस्थित नेपाली राजदूतावासले थप सुरक्षा सतर्कता अपनाउन नेपालीहरूलाई आग्रह गरेको छ । लेबनानसँगको सीमा क्षेत्रबाट समेत इजरायलमाथि रकेट तथा मिसाइल आक्रमण सुरु भएको भन्दै सचेत रहन आग्रह गरेको हो । इजरायलको दक्षिणी क्षेत्रको अशान्तिसँगै उत्तरी क्षेत्र लेबनानसँगको सीमा क्षेत्रमा समेत रकेट तथा मिसाइल प्रहार बढिरहेको दूतावासले जनाएको छ ।

इजरायलले किर्यात सोमनासहितका बस्तीबाट मानिसहरूलाई अन्यत्र सार्न सुरु गरेको जनाएको छ । उक्त क्षेत्र आसपास बस्ने नेपालीहरूलाई सुरक्षा प्रोटोकलहरूको पालना गर्न अनुरोध गरेको छ । त्यस्तै आफ्नो क्षेत्रका लागि जारी गरिएका सूचनाबारे तथा आफ्नो सुरक्षातर्फ सचेत रहन दूतावासले अनुरोध गरेको छ ।

सुरक्षित आश्रयस्थल नभएका तथा विभिन्न हिसाबले अप्ठ्यारोमा परेको खण्डमा दूतावासमा जानकारी गराउन अनुरोध गरेको हो । इजरायलमा बस्ने नेपालीहरूको सुरक्षाप्रति दूतावास गम्भीर रहेको जनाएको छ । परिस्थिति बिग्रँदै गएर कुनै आकस्मिक निर्णय गर्नुपर्ने भएमा यहाँ बस्ने हरेक नेपालीसम्म सहजै पुग्न सकियोस् भन्ने हेतुले दूतावासले विस्तृत विवरण सङ्कलन गर्न लागेको छ ।

त्यसका लागि इजरायलमा रहेका सम्पूर्ण नेपालीहरूलाई दूतावासको वेबसाइटमा राखिएको तथ्याङ्क सङ्कलन फर्म अनिवार्य भर्न समेत अनुरोध गरेको छ । यस अघि स्वदेश फर्कन चाहनेहरूको मात्रै विवरण माग भएकोमा यो फर्म भने सबैका अनिवार्य गरिएको दूतावासले जनाएको छ । त्यसैले इजरायलमा सम्पूर्ण नेपालीहरूलाई अनलाइन रजिस्ट्रेसन फर्म अनिवार्य रूपमा भर्नुहोला, फर्म भर्न मेसो नपाउनेले दूतावासमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।