• फाल्गुन २६ २०८२, मंगलवार

यमनका हुथी विद्रोहीले पनि हमासको समर्थनमा इजरायलमाथि हाने क्षेप्यास्त्र

कार्तिक ३ २०८०, शुक्रबार

काठमाडौं । इजरायल र हमासबीच जारी युद्ध १४औँ दिनमा प्रवेश गरेको छ । गत अक्टोबर ७ मा हमासले हजारौँ रकेटहरू आक्रमण गरेपछि जवाफमा इजरायलले लगातार हवाई हमलाहरू गरिरहेको छ ।

इजरायलले दिनरात गाजा स्ट्रिपस्थित हमासको अखडाहरूमा आक्रमण गरिरहेको छ । यस्तोमा इजरायली आक्रमणले गाजास्थित सबैभन्दा पुरानो ग्रिक अर्थोडक्स सेन्ट पोर्फिरियल चर्च ध्वस्त भएको छ । उक्त चर्च ९ सय वर्ष पुरानो थियो । चर्चमा आक्रमण हुँदा आठ मानिसहरू घाइते भएको बताइएको छ ।

यसबीचमा यमनका हुथी विद्रोहीले पनि हमासको समर्थनमा इजरायलतर्फ ३ वटा क्षेप्यास्त्र हानेका छन् । तर उक्त क्षेप्यास्त्र हमलालाई रेड सीस्थित तैनाथ अमेरिकी युद्धपोतले एन्टीमिसाइलको प्रयोग गर्दै रोकिदिएको अमेरिकी रक्षामन्त्रालय पेन्टागनले जनाएको छ । यससँगै अमेरिकी युद्धपोत युद्धमा सक्रिय भएको छ ।

हमासले इजरायलमा आक्रमण सुरु गरेदेखि नै अमेरिकाले मध्यपूर्वको समुद्रमा त्यहाँ दुईवटा युद्ध पोत पठाएको थियो । युद्धपोतसँगै युद्धक विमानहरू पनि इजरायलको समर्थनमा भूमध्य सागरमा पठाइएको छ । हमासको आक्रमणमा हालसम्म इजरायतर्फ १४ सयले ज्यान गुमाएका छन् भने इजरायलको आक्रमणमा गाजातर्फ ३८ सय जनाले ज्यान गुमएका छन् ।