चौतारा । तेस्रो संस्करणको मालिकादेवी नकआउट सेभेन ‘ए’ साइड नगर कप फुटबल प्रतियोगिता शनिबारबाट सुरु भएको छ । पहिलो दिन ४ खेल सम्पन्न भएको हो । उद्घाटन खेलमा आयोजक मेलचौर युवा जागरण समाज ‘बी’ले सहिद स्मृति युवा क्लबलाई ३–१ गोल अन्तरले पराजित गरेको थियो ।
पहिलो हाफमा १–० गोलले पछि परेको अबस्थालाई उल्ट्याउँदै दोस्रो हाफमा ३ गोल गरेको थियो । मेलचौरको जीतमा बिपिन गिरीले २ र उमेश तामाङले १ गोल गरे भने सहिद स्मृतिका आर्यनकाजी थापाले गरेको एक गोल सान्त्वना बन्यो । मेलचौर युवा जागरण समाजका बिपिन गिरी म्यान अफ द म्याच घोषित भए । यस्तै दोस्रो खेलमा धार्पा युवा क्लब र इन्द्रध्वज गणबीच हुने तालिका थियो तर, निर्धारित समयमा धार्पा उपस्थित नभएपछि इन्द्रध्वज गण विजयी हुँदै अघिल्लो चरणमा प्रवेश गरेको छ ।
तेस्रो खेलमा धोबीखोला युवा क्लबलाई ८–३ को फराकिलो गोल अन्तरले हराउँदै फाइभ स्टार युथ क्लब अघिल्लो चरणमा प्रवेश गरेको थियो । यो गोल स्कोर मालिकादेवी कपमा अहिलेसम्मकै सर्वाधिक फराकिलो जितको स्कोर समेत हो ।
फाइभ स्टारको जितमा रेशम माझीले ५, रोमन परियार, विशाल राना, स्वम दनुवारले समान १–१ गोल गरे भने धोबिखोलाको लागि इशान कार्की, नवीन कार्की र जुन कुमारले समान १–१ गोल गरेता पनि टोलीको हार टार्न सकेनन् । यस खेलमा रेशम म्यान अफ दि म्याच घोषित भए ।
यस्तै अन्तिम खेलमा थुम्कीडाँडा युथ क्लबले भिमेश्वरी समाजसेवी युवा क्लबलाई १–० गोलले हराउँदै अघिल्लो चरणमा प्रवेश गरेको छ । थुम्कीडाँडाको जीतमा पहिलो हाफमा आकाश सापकोटाले फ्रिकिकमा गरेको गोल नै निर्णायक बन्यो । उनी नै खेलको म्यान अफ दि म्याच घोषित हुँदै ट्रफीसहित नगद १ हजार प्राप्त गरे । यस्तै यसअघि दुई खेलमा पनि हरेक खेलका म्यान अफ दि म्याचले ट्रफीसहित नगद २ हजार प्राप्त गरेका थियो ।
यस्तै आइतबार बिहान ७ः३० बजे वडा नम्बर ८ र जल्किने युथ क्लब, बिहान ९ बजे वडा नम्बर ५ र जिल्ला प्रहरी कार्यालय, दिउँसो १ बजे सुकुटे युवा जागरण र वडा नम्बर ४, दिउँसो २ः३० बजे चौतारा ५ युवा क्लव र सिंहमति युवा क्लब, दिउँसो ४ बजे सहिद स्मृति युवा क्लब ‘ए’ र रोयल फ्यामेलीबीच प्रतिष्पर्धा हुनेछ ।
मेलचौर युवा जागरण समाजको आयोजनामा आजबाट सुरु भएको यस प्रतियोगिता कार्तिक ३ गतेसम्म चल्नेछ ।
आयोजकका अनुसार प्रतियोगिताको विजेताले १ लाख ११ हजार १११ ट्रफी, मेडल र प्रमाणपत्र तथा उपविजेता टोलीले ६६ हजार ६६६ ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । प्रतियोगितामा उत्कृष्ट खेलाडी, स्ट्राइकर, गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, प्रशिक्षक र प्रत्येक खेलको म्यान अफ दी म्याचलाई ट्रफीसहित नगद पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ । साथै टिम फ्यर प्लेयलाई अवार्ड पनि रहेको छ ।
पहिलो संस्करणको विजेता सुनौलो विहानी अभियानले जितेको थियो । त्यस संस्करणको पुरस्कार राशी ५० हजार रहेको थियो भने दोस्रो संस्करणको उपाधि ८० हजार अधेरी युथ क्लब बलेफीले जितेको थियो ।
यस्तै, तेस्रो संस्करणमा अघिल्लो संस्करणको तुलनामा पुरस्कार राशीमा ३१ हजार बढाएको आयोजकले जनाएको छ ।
प्रतियोगिताका सबै खेलहरू चौतारा साँगाचोकगढी नगरपालिका–७ मेलचौर दरबारडाँडा खेल मैदानमा हुनेछ ।