एजेन्सी । प्रिमियर लिगमा संघर्षरत चेल्सीले ब्राइटनमाथि काराबाओ कपमा संघर्षपूर्ण जीत हासिल गरेको छ । प्रशिक्षक माउरिसियो पोचेटिन्होले यो जीत चेल्सीका लागि ‘टर्निङ प्वाइन्ट’ हुने विश्वास व्यक्त गरेका छन् ।
खेलमा निकोलास ज्याक्सनले गरेको एक मात्र गोल निर्णायक बनेको थियो । पछिल्ला चार खेलमा टोलीको यो पहिलो जीत हो । योसँगै चेल्सीले अब अन्तिम १६ मा च्याम्यिनसीप टोली ब्ल्याकबर्न रोभर्सको सामना गर्नेछ ।
उता, आर्सनलले पनि ब्रेन्टफोर्डलाई समान गोल अन्तरले हरायो । खेलमा रिस नेलसनले खेलको आठौँ मिनेटमा निर्णायक गोल गरेका थिए ।
तर, खेलमा नायक भने गोलकिपर आरन राम्सडेल रहे । तीन खेलपछि सुरुवाती ११ मा फर्किएका राम्सडेलले एकपछि अर्को उत्कृष्ट बचाऊ गर्दै टोलीको जीत सुनिश्चित गरे । अब मिकेल आर्टेटाको टोलीले चौथो चरणमा वेस्ट ह्यामको सामना गर्नेछ ।