बूढापाका भन्छन्, ‘एक पटक सबैका दिन आउँछन् ।’ तर दिन त्यति सजिलै आउँदैनन् । अथक मिहिनेत, असिम लगानी र एकता चाहिन्छ, भनेको जस्तो दिन ल्याउन ।
विश्वमा अब चीनका दिन आउन थालेका छन् । सानोतिनो मेहनत र परिश्रमले आउन थालेका होइनन्, चीनका दिन ! यसले ५,००० वर्ष पुरानो इतिहास बोकेको छ ।
इशापूर्व २२१ मा चीन एक विसाल तथा उन्नत साम्राज्य थियो । इशापूर्र्व २०० मा कन्फ्युशियाली दर्शन निर्माण भइसकेको थियो । इशापूर्व ३०० मा चिनियाँ साम्राज्यभर एकै खालको लेखन प्रणाली सुरू भइसकेको थियो ।
यस बीचमा चिअ, शाङ, जु, चिन, हान तथा जिन वंशका राजाहरूले पुस्तौं राज्य गरे । त्यसपछि सिङ्गो एशिया खाएको चिनियाँ साम्राज्य विभिन्न राजाहरूमा विभाजित हुन गयो । देश पूर्व, पश्चिम, उत्तर र दक्षिण गरी विभिन्न राज्यमा विभाजित भयो ।
यसमा उत्तरी र दक्षिणी राजाहरू बढी शक्तिशाली भए । योसँगै चीनको टुटफुट र विभाजन सुरू भयो । यी उत्तरी तथा दक्षिणी राज्यहरूमा सुई, ताङ, सन, युआन, मिङ, चीन आदि वंशले शासन गरे । त्यसपछि गणतन्त्र काल आयो ।
चीनमा गणतन्त्र काल निकै छोटो रह्यो । डा. सन यात्सेन यसका प्रवर्तक थिए । माओको पालामा नयाँ जनवादी गणतन्त्र आयो । हाल चीनले राष्ट्रपति सि जिन फिङको नेतृत्वमा ‘चिनियाँ विशिष्टताको समाजवाद’ लागु गरिरहेको दाबी गर्दै आएको छ ।
सन् २०२३ मा आइपुग्दासम्म चीन उदीयमान अतिमहाशक्तिका रूपमा देखा परिसकेको छ । पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पालामा थालिएको व्यापार युद्धमा चीन सफल भएपछि यसले विश्व व्यापार आफ्नो पोल्टामा पारिसकेको छ ।
अमेरिका अहिले यही अप्ठेरोको सामना गर्न पूर्व विदेशमन्त्री तथा कुटनीतिज्ञ हेनरी किसिन्जरलाई २ हप्ताअघि चीन भ्रमणमा पठाएको थियो । किसिन्जरको यो भ्रमणको उपलब्धी अहिल्यै केही भन्न सकिने अवस्था छैन ।
तर अमेरिकाले आफ्नो गिर्दो साख र शक्ति सञ्चयका लागि अर्को शीत युद्ध चलाउनुको विकल्प देखिरहेको छैन । यता चीनले पनि तत्काल युद्ध नगर्ने दृढ नीति लिएर अघि बढिरहेको छ ।
अतिमहाशक्ति अमेरिका र उदीयमान अतिमहाशक्ति चीनका बीचमा ठीक यही स्वार्थमा मिलन हुन गएको छ । अमेरिका युद्ध गरे हार्ने, चीनले युद्ध गरे विनास बेहोर्ने, त्यसैले यी दुवैले युद्ध गर्न नचाहने भएकाले आपसी टकरावको व्यवस्थापन शीत युद्ध नै हुने देखिन्छ । यसको कुनै विकल्प छैन ।
हाल चलिरहेको रूस–युक्रेन युद्धमा युक्रेनलाई अमेरिकाको व्याक सपोर्ट र रूसलाई चीनको समर्थनले शीत युद्धकै स्पष्ट खाका दिन्छ । युरोप निकै बूढो भइसकेकाले यसले अमेरिकालाई प्रथम र दोस्रो विश्वयुद्धमा दिएको जस्तो साथ र समर्थन दिन सक्दैन ।
विश्वको अन्तरविरोध अहिले दोस्रो विश्व युद्धपछि (अर्थात् सन् १९७० पछि) को जस्तो देखा परिरहेको छ । ठ्याक्कै चरम शीत युद्ध, बाह्य टक्कर अमेरिका–रूस र आन्तरिक टक्कर अमेरिका–चीन, तर चीन–अमेरिका शक्ति सञ्चयको पक्षमा ।
यस्तो बेलामा अमेरिकाको लागि द्वन्द्वको आधा हिस्सा व्यवस्थापन चीनसँगै सहकार्य गरेर हुने देखिन्छ । यसमा पनि चीनलाई अलि बढी रणनीतिक सहमति र साझेदारीमा फसाउन सकियो भने अमेरिकाको विजय नभए पनि जय भने हुनेछ ।
यही ध्याउन्नमा अमेरिका तल्लिन छ । चीन ‘साप पनि मरिजाओस् र लट्ठी पनि नभाँचियोस्’ भन्ने पक्षमा छ । चीन निकै सतर्क छ । तर विश्व बजारमा अमेरिकासँग कतै न कतै, केही न केही नगरी चीनलाई सुखै छैन ।
यही विन्दुमा आफ्ना रणनीतिक स्वार्थ पूरा हुने गरी चीन र अमेरिका सहमति र सुलहमा अघि बढ्न तयार देखिन्छन् ।