• माघ १८ २०८१, शुक्रबार

जनजातिको धर्नामाथि लाठी हान्ने प्रहरीलाई कारवाही गर्न २ संगठनको माग

श्रावण २० २०८०, शनिबार

काठमाडौं । साउन १७ गते काठमाडौंमा भएको जनजाति समुदायमाथिको प्रहरी दमन जति जति पर्दाफास हुँदैछ, त्यति त्यति त्यसको विरोधमा प्रतिकृयाहरु आइरहेका छन् ।

जनजातिको संस्कृतिमाथि नै धावा बोल्ने कार्य गरेकी अधिवक्ता भगवती पाण्डेमाथि कारवाही गर्न माग गर्दै जनजातिहरुले काठमाडौं प्रहरी परिसरमा गरेको धर्नामा प्रहरीले व्यापकरुपमा दमन गरी घाइते बनाएको र हिरासतमा लगेर कुटपिट गरेको घटनाको तिब्र विरोध भइरहेका बेला डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी निकट प्रवासी मोर्चा प्रगतिशील नेपाली समाज समितिले पनि प्रहरी दमनको निन्दा गरेको छ ।

हेपाइमा पारिएका समुदायले न्याय माग्दा उल्टै प्रहरीले कुटपिट गर्नु लोकतन्त्रको उपहास भएको भन्दै प्रहरी प्रशासनको पञ्चायती शैलीको घोर भ्रत्सर्ना गरेको छ । सो संगठनको तर्फबाट अध्यक्ष लोकेन्द्र शेर्पाली र महासचिव राजेश रावलले एक विज्ञप्ति जारी गर्दै जनजातिको आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै दोषीलाई कारवाहीको माग गरेका छन् ।

यता सोही घटनामा गोखबर डटकमकी पत्रकार शान्ति घर्तीलाई प्रहरीको लाठीचार्जबाट सख्त घाइते बनाएको घटनाको भ्रत्सर्ना गरेको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघका अध्यक्ष मिलन लिम्बुले एक विज्ञप्ति जारी गर्दै सो घटनाको भ्रत्सर्ना गरेका हुन् । पत्रकार शानित घर्तीमाथिको कुटपिट प्रेस स्वतन्त्रतामाथिको प्रहार भएको सो संगठनको ठहर रहेको छ । सो संगठनले पत्रकार शान्ति घर्तीमाथि कुटपिट गर्ने प्रहरीमाथि कडा कारवाहीको माग पनि गरेको छ ।