• जेष्ठ २८ २०८२, मंगलवार

गाेलखबरकी पत्रकार घर्तीमगरमाथि कुटपिट गर्ने प्रहरीलाई कारवाही गर्न पत्रकार महासंघको माग

श्रावण १९ २०८०, शुक्रबार

काठमाडौं । नेपाल पत्रकार महासंघले गोलखबर डटकम अनलाइन पत्रिकामा कार्यरत पत्रकार शान्ति घर्तीलाई प्रहरीले कुटपिट गरी घाइते बनाएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको जनाएको छ । महासंघका महासचिव रोसन पुरीले आज एक विज्ञप्तिमार्फत् जनजातिको आन्दोलनका क्रममा पत्रकार शान्ति घर्तीमाथि कुटपिट गर्ने प्रहरीमाथि कारवाहीको माग पनि गरेका छन् ।

जनजाति संस्कारविरुद्ध अभिव्यक्ति दिनेलाई पक्राउ गरी कारबाहीको माग राख्दै साउन १८ गते बिहीबार काठमाडौंको टेकुस्थित जिल्ला प्रहरी परिसरमा भएको धर्ना कार्यक्रमको समाचार संकलनका क्रममा पत्रकार घर्तीलाई टेकु प्रहरीले नियन्त्रणमा लिएर लछारपछार गर्दै कुटपिट गरेका थिए ।

महासचिव पुरीले स्वतन्त्रतापूर्वक समाचार संकलनमा जुटेका पत्रकारमाथि प्रहरीले गरेको यो ज्यादती अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रताविरोधी काम भएको बताएका छन् । पुरीले विज्ञप्तिमा भनेका छन्,‘महासंघ पत्रकारमाथि भएको ज्यादतीको छानबिन गर्न र दोषीलाई कारबाही गरी प्रेस स्वन्त्रताको सम्मान गर्न प्रहरी प्रशासनको ध्यानाकर्षण गराउँदछ ।’

टेकु प्रहरीको लाठीचार्जबाट गम्भीर घाइते भएकी पत्रकार घर्तीको पहिले ट्रमा सेन्टरमा र हाल वीर अस्पतालमा उपचार भइरहेको छ । अधिवक्ता भगवती पाण्डेले जनजातिको संस्कारमाथि हमला गरेपछि त्यसको विरुद्धमा मुद्धा परेको अदालतले पक्राउ गर्न पुर्जी जारी गर्दा पनि प्रहरीले भगवतीलाई पक्राउ नगरेका कारण जिल्ला प्रहरी कार्यालय टेकुमा धर्ना कार्यक्रमको रिपोर्टिङ गर्न गएकाबखत प्रहरीले पत्रकार घर्तीलाई ‘म मिडियाकर्मी हुँ’ भन्दा भन्दै पनि लछापछार पार्दै कुटपिट गरेको दृश्य विभिन्न सञ्चारमाध्यमहरुमा भाइरल बनेको छ ।

धर्ना कार्यक्रममा सहभागीमध्ये जनजातिका ३ दर्जन जति कार्यकर्तालाई पनि प्रहरीले पक्राउ गरी हिरासतमा यातना दिएको समाचारहरु आएका थिए । पत्रकार शान्ति घर्तीमाथिको कुटपिटको गोलखबर डटकमले कडा आपत्ति जनाउँदै पत्रकार महासंघलाई जानकारी गराएपछि महासंघले पत्रकार घर्तीमाथि कुटपिट गर्ने प्रहरीमाथि कारवाहीको माग गरेको हो ।