• जेष्ठ २८ २०८२, मंगलवार

तस्करीको सुनकाण्ड अनुसन्धान बारे गृहमन्त्री र प्रधानमन्त्रीबीच घमासान

श्रावण १८ २०८०, बिहीबार

काठमाडौं । तस्करी भएको सय किलो सुन प्रकरणमा प्रधानमन्त्री कार्यालय सिंहदवारमा व्यापक छलफल भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल, रक्षामन्त्री पूर्णबहादुर खड्का, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, प्रहरी प्रमुख वसन्त कुँवर, राजस्व अनुसन्धान विभागका प्रमुख नवराज ढुंगाना र सिआईबी प्रमुख किरण बज्राचार्यबीच बिहीबार छलफल भएको हो ।

संवैधानिक परिषदको बैठक चलिरहेका बेला गृहमन्त्री श्रेष्ठले आईजीपी कुँवर र सिआईबी प्रमुख बज्राचार्यलाई प्रधानमन्त्री कार्यालयमा डाकेका थिए । सुन तस्करी प्रकरणको अनुसन्धान जिम्मा प्रहरीलाई दिनुपर्ने मनसायसहित गृहमन्त्री श्रेष्ठले उनीहरूलाई डाकेका थिए ।

बैठकको सुरुवातमै गृहमन्त्री श्रेष्ठले प्रधानमन्त्री दाहाललाई सुन तस्करी प्रकरणको अनुसन्धान जिम्मा प्रहरीलाई दिन आग्रह गरेका थिए । उनले सिआईबी प्रमुख बज्राचार्यलाई इंगित गर्दै सो प्रकरणको अनुसन्धान जिम्मा प्रहरीलाई दिनुपर्ने माग गरेका थिए ।

‘सुन तस्करी प्रकरणको अनुसन्धान गर्ने जिम्मा प्रहरीलाई दिनुर्पयो । सिआईबीको टोलीले यस प्रकरणको तार्किक निष्कर्षमा पुर्याउँछ,’ गृहमन्त्री श्रेष्ठले प्रधानमन्त्री दाहाललाई भनेका थिए । गृहमन्त्री श्रेष्ठको प्रस्ताव प्रधानमन्त्रीले ठाडै अस्वीकार गरेको उच्च स्रोतको भनाइ छ ।

‘सुन तस्करी प्रकरणको अनुसन्धान राजस्व अनुसन्धान विभागले गरिरहेको छ । राजस्व अनुसन्धान विभागले पनि यो प्रकरणलाई तार्किक निष्कर्षमा पुर्याउँछ । बरु आवश्यक परे प्रहरीको सहयोग पनि लिन्छौं,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो । प्रधानमन्त्रीको जवाफपछि गृहमन्त्री श्रेष्ठले असन्तुष्टि जनाएका थिए ।

उच्च स्रोतका अनुसार उनीहरूबीच केहीबेर सवाल जवाफसमेत भएको थियो । ‘अनुसन्धानको कुरालाई लिएर प्रधानमन्त्री र गृहमन्त्रीबीच सवाल जवाफ भयो । प्रहरीलाई अनुसन्धान जिम्मा नदिने भनिएपछि गृहमन्त्रीले चर्को असन्तुष्टि जनाउनुभयो,’ स्रोतले भन्यो । केहीबेरको भनाभनपछि गृहमन्त्री श्रेष्ठले असन्तुष्टि जनाउँदै बैठकबाट बाहिरिएको ती स्रोतको भनाइ छ ।

गृहमन्त्री निस्किसकेपछि प्रधानमन्त्री दाहालले महानिरीक्षक कुँवर, राजस्व अनुसन्धान विभागका ढुंगाना र सिआईबी प्रमुख बज्राचार्यसँग छलफल गरेका थिए ।