काठमाडौं । काठमाडौं प्रहरी परिसर टेकुमा समाचार संकलनमा गएकी गोलखबर डटकमकी समाचारदाता शान्ति घर्तीलाई प्रहरीले कुटपिट गरी सख्त घाइते बनाएकोमा गोलखबर डटकमले घोर भत्र्सना गरेको छ ।
जनजातिको संस्कारविरुद्ध अभिव्यक्ति दिएकोले अधिवक्ता भगवती पाण्डेलाई कारवाही गर्न दबाब दिने उद्धेश्यले जनजातिका अगुवा कार्यकर्ताले गरेको धर्नाको रिपोर्टिङका क्रममा घर्तीलाई कुटपिट गर्नुका साथै लछारपछार गर्दै हिरासतमा लिएर अभद्र व्यवहार गरेको प्रति गोलखबरले भत्र्सना गरेको छ ।
साथै सञ्चारकर्मी शान्ति मगरमाथि भएको दमनको छानबिन गरी दोषिलाई कडा कारवाही गर्न जोडदार माग गरेको छ । निर्वाध रुपमा समाचार संकलन गरिरहेका बेला प्रहरीको कुटपिटबाट सख्त घाइते भएकी मगरको स्वास्थ्य लाभको कामना गर्दछ ।
स्वतन्त्र प्रेसमाथि राज्यबाट भएको निरंकुश दमन हामीलाई क्षम्य हुन सक्दैन । संविधानले प्रेस स्वतन्त्राको ग्यारेन्टी गरेको छ तर, एउटा सञ्चारकर्मीमाथि राज्यले बलजफ्ती गर्नु लज्जाको विषय हो ।