काठमाडौं । माओवादीका केन्द्रीय सदस्य तथा प्रवास कमिटी अध्यक्ष ओम शर्माले पार्टी अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री भएर गरेको राम्रो काम उनका छोरी–ज्वाइँले खाइदिएको बताएका छन् ।
केन्द्रीय कमिटी बैठकमा बोल्ने क्रममा शर्माले माओवादी पार्टी प्रचण्डका छोरा–छोरीले सिध्याएको आरोप लगाए ।
रिपोर्टिङको क्रममा उनले भने, ‘ज्वाइँलाई रोएको भरमा मन्त्री बनाउने ? जनताका छोरा छोरी संगठन बनाउन गाउँ–गाउँ जाने । तपाईंका ज्वाइँ छोरी मुगुमा पार्टी बनाउन जान्छन् ? म जान तयार छु । तपाईं र माओवादी नेताहरूको सम्पत्ति छानबिन गर्न तयार हुनुहुन्छ कि हुनुहुन्न ?’
उनले यो पार्टीको आयु पाँच हजार वर्ष तोके पनि यो पार्टीले समाजवाद नल्याउने धारणा राखेका छन् । उनले विधान महाधिवेशन र विशेष महाधिवेशन हुन्छ भन्ने आफूलाई विश्वास नलागेको बताए ।