• जेष्ठ २८ २०८२, मंगलवार

पक्राउ गरिएका कार्यकर्तालाई बिनासर्त रिहा गर्न मगर र तामाङ अगुवाहरुको चेतावनी

श्रावण १७ २०८०, बुधबार

काठमाडौं । मगर र तामाङ समुदायमाथि आज काठमाडौं प्रहरी परिसरमा भएको दमनप्रति नेपाल तामाङ घेदुङ र नेपाल मगर संघले कडा आपत्ति जनाएका छन् ।

जनजातिको संस्कारमाथि गलत अभिव्यक्ति दिएको भन्दै अधिवक्ता भगवती पाण्डेलाई पक्राउ गरी कारवाही चलाउन माग गर्दै जिल्ला प्रहरी परिसर काठमाडौं टेकुमा धर्ना दिन गएका जनजाति समुदायका कार्यकर्तामाथि प्रहरीले लाठी चार्ज गर्नुका साथै पक्राउ गरेको विरोधमा ती समुदायले कडा आपत्ति जनाएका हुन् । पाण्डेलाई माफी माग्न अल्टिमेटम दिइएको र यो अल्टिमेटमको उल्लंघन गरेका कारण जनजातिहरु प्रहरीमा धर्ना दिन पुगेका हुन् ।

मगर संघका अध्यक्ष ज्ञानेन्द्र पुन र तामाङ घेदुङका अध्यक्ष मोहन गोले तामाङले आज संयुक्त विज्ञप्ति मार्फत् धर्नामा बसेकाहरुमाथि लाठी प्रहार गरी चरम यातना दिनु लज्जास्पद कार्य भएको भन्दै गिरफ्तार गरिएकालाई तत्काल रिहा गर्न माग पनि गरेका छन् । ३ दर्जनजति धर्नाकारीहरु पक्राउ परेको मगर अगुवाहरुले बताएका छन् ।

उनीहरुको विज्ञप्तिमा भनिएको छ,‘तामाङ र मगर लगायत समस्त आदिवासी जनजाति समुदायलाई नै अपराधीकरण गर्नेगरी विवादास्पद अभिव्यक्ति दिने कानुन व्यवसायी भगवती पाण्डे (शितल) लाई पक्राउ गरी कानुन बमोजिम कार्वाही गरियोस् भनी माग राख्दै मिति २०८० साउन १७ गते जिल्ला प्रहरी परिसर टेकु, काठमाडौं घेराउ कार्यक्रममा प्रहरीले अनावश्यक बल प्रयोग गरी तीन दर्जन बढी आन्दोलनकारीलाई पक्राउ गरी चरम यातना दिएको र लाठी चार्ज गरी घाइते बनाएकोमा हामी प्रहरी प्रशासनको यो रबैयाको घोर भत्र्सना गर्दछौं ।

आफ्ना मागहरु शान्तिपूर्ण रुपले राख्दै प्लेकार्ड र आवाजमार्फत् प्रहरी परिसर अगाडि आन्दोलन गरिरहेका आन्दोलनकारीहरुलाई अनावश्यक बल प्रयोग गरी पक्राउ गरिनु र निहत्था आन्दोलनकारीलाई मरणासन्न हुनेगरी कुटपिट गरी घाइते समेत बनाइनु अत्यन्तै दुःखद, निन्दनीय र लज्जास्पद पनि छ ।’

विज्ञप्तिमा अझ अगाडी भनिएको छ,‘अनावश्यक बल प्रयोग गरी पक्राउ गरेका सबै आन्दोलनकारीहरुलाई निशर्त तत्काल रिहा गरियोस् भनी हामी माग राख्दछौं र घाइते साथीहरुको शिघ्र स्वास्थ्य लाभको पनि कामना गर्दछौं । यदि हाम्रो मागलाई बेवास्ता गरी पक्राउ परेका व्यक्तिहरुलाई रिहाइ नगरेमा भोलिदेखि अनिश्चितकालीन देशव्यापी आन्दोलन गर्ने समेत चेतावनी दिन चाहन्छौं ।’ आन्दोलको दबाबका कारण अधिवक्ता पाण्डे आजै पक्राउ परिसकेकी छिन् ।

तस्विर : रोमन बुढामगर