विराटनगर । ठगी तथा बैंकिङ कसुर मुद्दामा कैद भुक्तान गरिरहेका सुनसरीका लालबहादुर विश्वकर्माले सफाइ पाएका छन् । उच्च अदालत विराटनगरले ठगी मुद्दामा जिल्ला अदालत सुनसरीको फैसला उल्टाएर लालबहादुर विकलाई न्याय दिएको हो ।
जिल्ला अदालत सुनसरीले कामदार विश्वकर्मालाई ठगी मुद्दामा मालिक सरह कैदको फैसला सुनाएको थियो । उच्च अदालतबाट जिल्लाको फैसला उल्टी भएको अदालतका सूचना अधिकारी ओम सुवेदीले जानकारी दिए । उच्च अदालतका न्यायाधीश विपुल न्यौपाने र मिलनकुमार राईको इजलासले मुद्दा सुरु भएको सुनसरी जिल्ला अदालतको फैसलालाई उल्टिएको हो ।
तरहरास्थित सिंहदेवी ज्वेलर्सका सञ्चालक दीपक परियारको आदेश अनुसार पसलमा काम गर्ने विश्वकर्मालाई सञ्चालकले ठगी गरेको मुद्दामा डेढ वर्ष कैद, ७० हजार रुपैयाँ जरिवाना र ४ करोड ७१ लाख १६ हजार ७ सय २४ रुपैयाँ बित्रगो तिर्नुपर्ने फैसला गरेको थियो । फैसलापछि उनी झुम्कास्थित कारागारमा छन् । जिल्लाले गरेको फैसलाविरुद्ध आफू निर्दोष रहेको बताउँदै विक उच्च अदालत गएका थिए । उच्च अदालतमा पटकपटक मुद्दा पेसीमा चढे पनि धेरै पटक हेर्न नमिल्ने र स्थगित हुने गरेको मुद्दाको फैसला आज मंगलबार भएको हो । मंगलबार लालबहादुरको पक्षमा सांसद सोविता गौतमले पनि बहस गरेकी थिइएन् ।
सुनसरीको इटहरी उपमहानगरपालिका–२० तरहरामा रहेको सिंहदेवी ज्वेलर्सका मालिक दीपक परियारले सर्वसाधारणबाट १८ करोड ८४ लाख ६६ हजार रुपैयाँ ठगी गरेको मुद्दामा जिल्ला अदालत सुनसरीले विकलाई पनि दोषी देखाउँदै सञ्चालक सरह नै बिगो र कैद सजाय फैसला गरेको थियो ।
जिल्ला अदालत सुनसरीकी न्यायाधीश निर्माला योङयाको इजलासले २०७८ पुस १ गते फरार रहेका कमलको मुद्दा मुलतवीमा राख्दै चार जनालाई दोषी ठहर गरेको थियो । लालबहादुर बाहेक अन्यको हकमा ठगी मुद्दामा जिल्ला अदालत सुनसरीको फैसला सदर भएको उच्च अदालत विराटनगरका सूचना अधिकारी सुवेदीले जानकारी दिए । सुन पसलले ठगी गरेको उजुरी परेपछि लालबहादुर पसलका सञ्चालक दिपकका बुबा कृष्णबहादुरसँगै पक्राउ परेका थिए ।
त्यसको केही समयपछि सञ्चालक दीपक पनि पक्राउ परेका थिए । जिल्ला अदालतमा थुनछेक बहस हुँदा कृष्णबहादुर र उनकी छोरी सीतालाई अदालतले पूर्पक्षका लागि कारागार चलानको आदेश दिएको थियो । लालबहादुरलाई भने पक्राउ परेको एक महिनापछि २०७५ असार २५ गते दुई लाख धरौटीमा छाड्ने आदेश दिएको थियो । फैसलापछि लालबहादुर २०७९ मंसिर २१ गते पक्राउ परेका थिए ।