• जेष्ठ ३० २०८२, बिहीबार

कोशी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापा नियुक्त

श्रावण १६ २०८०, मंगलवार

काठमाडौँ । कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता उद्धव थापा नियुक्त भएका छन् ।

मंगलबार साँझ प्रदेश प्रमुख परशुराम खापुङले कांग्रेस संसदीय दलका नेता थापालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

थापाले कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाका गरी ४७ सांसदको समर्थनमा मंगलबार अपराह्न प्रदेश प्रमुख खापुङसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।

थापालाई कांग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादीका ४ र जसपाका १ सांसदको समर्थन छ ।

गठबन्धनको सरकार बनाउन आजै बाबुराम गौतमले सभामुख पदबाट राजीनामा दिएका थिए । त्यसपछि थापाले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । सरकार गठनका लागि सभामुखले राजीनामा दिएपछि गठबन्धनले सहजै बहुमत जुटाएको भए पनि विश्वासको मत लिन भने सहज देखिन्न । संवैधानिक प्रावधान अनुसार मुख्यमन्त्री थापाले अब ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्छ ।

तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत नपाएपछि असार २१ मा थापा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । तर, सभामुख गौतमले कांग्रेस संसदीय दलका नेता थापाले मुख्यमन्त्रीका लागि दाबी पेस गर्दा हस्ताक्षर गरेपछि विवाद भएको थियो ।

सभामुखले कानुनी रूपमा मुख्यमन्त्रीका लागि दाबी पेस गर्दा समर्थन गर्न नमिल्ने भन्दै एमाले संसदीय दलका नेता हिक्मत कुमार कार्कीले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । उक्त मुद्दामाथि सुनुवाइ गर्दै सर्वोच्चले ११ साउनमा मुख्यमन्त्री थापाको नियुक्ति बदर गर्दै नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउन प्रदेश प्रमुख खापुङका नाममा परमादेश जारी गरेको थियो ।