काठमाडौँ। कोशी प्रदेशका सभामुख बाबुराम गौतमले पदबाट राजीनामा दिएका छन् । उनले मंगलवार साँझ संसद् सचिवालयमा राजीनामा पत्र दर्ता गराएका हुन् । उनले प्रदेश सभामा उपसभामुखलाई सम्बोधन गर्दै सभामुख पदबाट राजीनामा बुझाएका हुन् ।
सभामुखबाट राजीनामा दिएसँगै उनी अब मुख्यमन्त्रीमा समर्थन गर्न प्रदेश प्रमुख कार्यालयमा जाने तयारी छन् । प्रदेश प्रमुखमा मुख्यमन्त्री दाबी गर्ने तयारीमा गठबन्धनका नेताहरू प्रदेश सभामा सभामुख गौतमलाई पर्खेर बसेका छन् ।
सभामुखको राजीनामासँगै नेपाली कांग्रेसका संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउन प्रदेश प्रमुखकोमा दाबी पेश गर्ने बाटो खुलेको छ । सभामुखको राजीनामापछि दाबी पेस गर्ने माओवादी संसदीय दलका नेता इन्द्र बहादुर आङबोले बताए ।
सरकार गठनमा राप्रपाको साथ नपाएपछि गठबन्धनले सभामुख बाबुराम गौतमको राजीनामा गराएको हो । गौतमको राजीनामासँगै ९३ सदस्यीय प्रदेशसभामा गठबन्धनलाई सरकार बनाउन आवश्यक बहुमत ४७ सांसद पुगेको छ ।
गौतम नेकपा माओवादी केन्द्रबाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । गठबन्धनले सभामुख गौतमलाई राजीनामा गराएर संविधानको धारा १६८ को उपधारा २ अनुसारको सरकारको दाबी गर्न लागेको हो । सरकार गठनको लागि प्रदेश प्रमुख पर्शुराम खापुङले दिएको आज बेलुका ५ः०० बजेसम्मको समय दिएका छन् ।
तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत नपाएपछि असार २१ गते उद्धव थापाको नेतृत्वमा गठन भएको सरकारलाई साउन ११ गते संवैधानिक विपरीत रहेको भन्दै सर्वोच्च अदालतले खारेज गरिदिएको थियो । थापा नेतृत्वको सरकार २२ दिनमै बर्खास्त भएकोमा पुनः थापालाई नै मुख्यमन्त्रीको रुपमा गठबन्धनले अगाडि सारेको छ ।