काठमाडौँ । काठमाडौँ महानगरपालिकाले तत्काल राप्रपाको धुम्बाराहीस्थित पार्टी कार्यालय नभत्काउने भएको छ । महानगरपालिकाले राप्रपाले लिखित रुपमा २१ दिनको समय मागेर पत्राचार गरेसँगै त्यसलाई स्वीकारेको हो ।
काठमाडौँ महानगरपालिकाका प्रहरी बल प्रमुख राजु पाण्डेले राप्रपाले २१ दिनको समय माग गरेर लिखित रुपमा पत्र दर्ता गरेसँगै सो अवधिका लागि पर्खिने निणर्य भएको जानकारी दिए ।
‘हामीले यसअपघि नै सार्वजनिक सूचना जारी गरेका हौँ । सोहीअनुसार हामीले ३ दिनअघि माइकिङ गरेर कार्यालय हटाउन भनेका हौँ’, उनले भने, ‘तर उहाँहरुले मान्नु भएन । आज भत्काउने भनेर गएपनि राप्रपाले २१ दिनको समय मागेर पत्राचार गरेसँगै त्यतिसमय पर्खिने भएका छौँ ।’ अबको २१ दिनमा पनि पार्टी कार्यालय नहटाएर महानगरपालिकाले २२औँ दिनमा डोजर चलाउने पाण्डेले स्पष्ट गरे ।
राप्रपाका मुख्यसचिव केदाबहादुर अधिकारीले मेयर बालेन शाहलाई सम्बोधन गरेर दर्ता गराएको पत्रमा भनिएको छ, ‘महानगरपालिकाको सूचना बमोजिम घर खाली गर्ने विषयमा राष्ट्रिय प्रजातन्त्र पार्टीले २१ दिनभित्र घर खाली गरी महानगरपालिकालाई जानकारी गराउने निर्देशानुसार अनुरोध गर्दछु ।’
त्यसको बोधार्द जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई समेत दिइएको छ । महानगरपालिकाले यसबारे निणर्य गरेपनि राप्रपालाई जानकारीसहितको पत्र मंगलबार पठाउने बताइएको छ ।