• जेष्ठ १० २०८३, आईतवार

चाबहिल नापीका अधिकृतविरुद्ध १ करोडको भ्रष्टाचार मुद्दा दायर

श्रावण १४ २०८०, आईतवार

काठमाडौं । १ करोड रुपैयाँभन्दा बढी अकुत सम्पत्ति कमाएको अभियोगमा नापी कार्यालय चाबहिलका मालपोत अधिकृत राजु पुरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्यितार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।

उनी २०५२ पुस ९ मा सरकारी सेवामा प्रवेश गरेका थिए। सेवा प्रवेश गरेको मितिदेखि २०७९ असार मसाान्तसम्म पारिश्रमिक, अन्य भत्ता, कर्जा, जग्गा कारोबार कृषि आय लगायत सबैबाट गरेर उनको वैध आम्दानी १ करोड २० लाख ७७ हजार ७४८ रुपैयाँ देखिएको अख्तियारले जनाएको छ।

तर, अनुसन्धानबाट उनले २ करोड २४ लाख ८१ हजार ६९० रुपैयाँ बराबरीको सम्पत्ति आर्जन गरेको देखिएको अख्तियारले जनाएको छ। स्रोत नखुलेको १ करोड ४ लाख ३ हजार ९४१ रुपैयाँ बराबरको सम्पत्ति अवैध रुपमा आर्जन गरेको दाबी गर्दै अख्तियारले उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।

स्रोत नखुलेको, अकुत सम्पत्ति बराबर बिगो कायम गर्दै अख्तियारले उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन अन्तर्गतको कसुरमा मुद्दा दायर गरिएको हो। सम्पत्ति जफत गर्ने प्रयोजनका लागि उनकी श्रीमती श्रृजना गिरीलाई पनि प्रतिवादी बनाइएको छ।