• जेष्ठ २७ २०८३, बुधबार

सर्लाहीमा झडप, दर्जर्नौं सेल अश्रुग्याँस प्रहार

श्रावण १३ २०८०, शनिबार

काठमाडौं । सर्लाहीमा शनिबार बेलुका तनाव सिर्जना भएको छ । गोडैता नगरपालिका-७, गोडैता बजारमा झडपको स्थिति बनेको हो । तर, अहिले अवस्था सामान्य भइसकेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एवं एसपी नरेश सुवेदीले जानकारी दिए ।

उनका अनुसार मुस्लिम समुदायले मोहरम पर्व मनाइरहेका बेला उच्छृंखल समूहले ‘डिस्टर्ब’ गर्ने प्रयास गरेको थियो । आफूहरूले स्थिति नियन्त्रणमा लिएको उनले बताए । स्थिति नियन्त्रणमा लिन केही सेल अश्रुग्यास प्रहार गरिएको उनले जानकारी दिए ।

“अहिले स्थिति सामान्य भइसक्यो, यो (शनिबार बेलुका) ८/साढे ८ बजेतिरको घटना हो,” उनले बाह्रखरीसित भने, “त्यसलाई रोक्न अश्रुग्यास प्रहार गर्‍यौँ, कति सेल प्रहार गर्‍यौँ भन्ने अहिले बुझ्दै छौँ ।” कुनै अप्रिय घटना नहोस् भनेर प्रहरी खटिएको र उच्छृंखल समूहले प्रहरीमाथि नै ढुंगामुढा गरेको उनले बताए । मुस्लिम समुदायका कुनै व्यक्तिलाई केही नभएको उनको भनाइ छ ।

“दुई समूहबीच झडप हुन पाएन, प्रहरीले रोक्यो,” उनले भने, “रोक्न खोज्दा प्रहरीमाथि सिसाका बोतल, ढुंगा प्रहार गरेका थिए ।”