गत साता चीन भ्रमणमा आएका किसिन्जरले आफ्नो यात्रालाई निजी भ्रमणको संज्ञा दिए । यथार्थमा यो अमेरिकाद्वारा चीनसँगको सम्बन्धलाई सामान्यीकरण गर्ने दिशामा थालिएको ‘मास्टर स्ट्रोक’ हो ।
किसिन्जरको चीन भ्रमणबाट उत्साही चिनियाँ विदेशमन्त्री याङ यीले पनि अमेरिका र चीनको दुई पक्षीय सम्बन्धलाई पूर्ववत अवस्थामा ल्याउन अमेरिकाले किसिन्जर शैलीको कूटनीतिक बुद्धिमता र राजनीतिक साहस देखाउनुपर्ने सुझाव दिए ।
साथै, याङले किसिन्जरलाई चीनको पुरानो एवं विश्वासिलो मित्रको संज्ञा दिँदै चीन र अमेरिकाबिचको द्वीपक्षीय सम्बन्धलाई सुदृढ बनाउन उनले खेलेको भूमिका अरू कसैले पनि निर्वाह गर्न नसक्ने भनदै किसिन्जरको प्रशंसा गरे ।
किसिन्जरका अतिरिक्त अमेरिकी राष्ट्रपति जो बाइडेनका विशेष दूत जोन केरीले पनि बेइजिङको भ्रमण गरी जलवायु परिवर्तनका लागि सँगै मिलेर काम गर्न निम्तो दिनुको निहितार्थ भनेको चीनसँगको दुईपक्षीय सम्बन्धलाई सृदृढ बनाउन अमेरिकामा देखिएको व्यग्रता नै हो ।
हालका दिनमा केही यस्ता घटना भए, जसले अमेरिका र चीनको दुईपक्षीय सम्बन्धमा फाटो ल्याउने काम गर्यो । खासगरीकन रूस र चीनबिचको बढ्दो मित्रता र रूस–युक्रेन युद्धमा चीन रूसको पक्षमा उभिनु, लोकतान्त्रिक तरिकाले शासित ताइवानको भौगोलिक सिमानालाई अस्थिर बनाउने चीनको प्रयास तथा चीनको अर्थतन्त्रलाई कमजोर बनाउने र निर्यात व्यापारलाई प्रभावित गर्नेगरी अमेरिकाद्वारा अपनाइएका नीति ताइवान, हङकङ र तिब्बत मामिलामा अमेरिकाको अनावश्यक चासो तथा चीनसँग समानतामा आधारित विभिन्न सम्बन्धको प्रयास भएमा आफै दुई मुलुको सम्बन्ध सामान्य हुनसक्ने चीनको अडान छ ।
किसिन्जरले चीनका रक्षामन्त्री ली साङ फुसँग पनि भेटे तथा अमेरिका र चीनबिच देखिएको असमझदारी र तनावको अवस्थालाई अन्त्य गरी यसलाई सामान्य अवस्थामा फर्काइने विश्वास व्यक्त गरे । चीन र अमेरिकाको मैत्रीसम्बन्धको लामो परम्परा रहिआएको छ । तत्कालीन अमेरिकी राष्ट्रपति, फ्रान्कलिन डिलोनो रूजबेल्टले पूर्वी एसियामा शक्ति सन्तुलन कायम गर्न मन्चुरियालाई चीनका निम्ति फिर्ता गरेका थिए ।
सन् १९४९ मा चीनमा कम्युनिस्ट पार्टी शासन सत्तामा हावी भएपछि अमेरिकाले यसलाई आफ्नो हितमा ठान्दै सोभियत कम्युनिस्टसँग दूरी बढायो र विश्व जगतबाट एक्लिन पुगेको चीनलाई वैकल्पिक भ्रातृत्वको एकीकरणमा सहयोग ग¥यो । अमेरिकाले नै चीनलाई निर्यातको केन्द्र बनाउनमा मद्दत गर्यो र त्यहाँबाट सस्तो सामान खरिद गर्न थाल्यो । फलस्वरूप चीनको विदेश व्यापारमा ठुलो नाफा भयो र यो नै अमेरिकामा पुँजी प्रवाहको प्रमुख स्रोत बन्नगयो ।
माओ–निक्सन भेटको झन्डै ५२ वर्षपछि तत्कालीन अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार किसिन्जरले ५० वर्षअघि माओ र चाओ एनलाई भेटेकै पाहुना घरमा चीनका राष्ट्रपति सी चिन फिङलाई भेटे । गत २० जुलाईमा सीसँग किसिन्जरको भेट पाँच दशकअघिको भेटजस्तो विश्व राजनीतिको प्रवाहमा दिशा बदलिनसक्ने खालको त छैन ।
तर अमेरिका चीनबिचको वर्तमानको तनावपूर्ण सम्बन्धमा उनको यस भ्रमणले उत्प्रेरकको भूमिका निर्वाह गरी दुई पक्षीय सम्बन्धमा जमेको बाक्लो हिउँलाई केही हदसम्म पनि पग्ल्याउनसक्यो भने यो ठुलो उपलब्धि हुनेछ । हेनरी किसिन्जरको कूटनीतिक चातुर्यलाई बुझेर नै होला तत्कालीन अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनले निर्वाचनमा आफ्ना प्रतिस्पर्धीको प्रमुख सल्लाहकार किसिन्जरको बुद्धिमतालाई उपभोग गर्ने निर्णय गरे ।
ठुला देशहरू प्रायः विदेशी नीतिलाई बेग्लै ढंगले परिचालन गर्ने गर्छन् । भारतका तत्कालीन प्रधानमन्त्री पिभी नरसिंह रावले पनि जेनेभामा आयोजित मानवधिकारसम्बन्धी सम्मेलनमा देशको प्रतिनिधित्व गर्न संसदमा प्रमुख प्रतिपक्षी दलका नेता अटलविहारी बाजपेयीलाई पठाएका थिए । उमेरले सय वर्षका भूतपूर्व अमेरिकी विदेशमन्त्री हेनरी किसिन्जरले सयपटक भन्दा बढी चीनको भ्रमण गरिसकेका छन् ।
आफ्नो यसपटकको चीन भ्रमणमा उनले चिनियाँ राष्ट्रपति सी चिन फिङ, विदेशमन्त्री याङ यी र रक्षामन्त्री ली साङ फुसँग भेटघाट गरे । अमेरिकी सरकारले किसिन्जरको यसपटकको चीन भ्रमणलाई अमेरिकी सरकारद्वारा प्रतिनिधि बनाइ पठाइएको मान्न तयार छैन र यसलाई किसिन्जरको निजी भ्रमण बताइरहेको छ । तर, यति पाको उमेरमा कोही निजी भ्रमणका लागि चीन किन जान्छ त ? यो प्रश्न भने गम्भीर छ ।
किसिन्जर पहिलोपटक चीन भ्रमणमा पुग्दा अमेरिका भियतनाम युद्धमा फसेको थियो । अहिले रूस–युक्रेन युद्धका कारण अमेरिकी कूटनीति असफल भइरहेको छ । एक्लो चीन मात्रको समर्थनले रूसको मनोबल आकाशमा रहेको मान्न सकिन्छ ।
निक्सनले तत्कालीन सोभियतसंघलाई कमजोर बनाउन चीनको समर्थन हासिल गरेजस्तै अहिले पनि अमेरिकाले रूसलाई कमजोर पार्न चीनको समर्थन खोज्दै छ । किसिन्जर, रूसका निम्ति उपयुक्त पात्र हुनसक्छन् भन्ने ठम्याइ अमेरिकाको हुनसक्छ ।अमेरिकाको चीन नीतिलाई तीन चरणमा विभाजित गर्न सकिन्छ ।
पहिलो चरणमा चीनद्वारा तिब्बतमाथि नियन्त्रण जमाउने र ‘सय फूल फुल्न देऊ’जस्ता अभियानका वावजुद अमेरिकाले माओत्से तुङको शासनलाई आकर्षित गर्ने प्रयास गर्यो । तर, जब चीनले रूसमाथि विश्वास गरेन अनि ६० को दशकमा अमेरिकाले चीनलाई विश्व समुदायबाट एक्ल्याउने अभियान चलायो ।
तेस्रो चरण सन् १९६९ मा चीन सोभियत रूसबिचको सैन्य भिडन्तपछि सुरू भयो । मौकाबाट लाभ उठाउँदै अमेरिकाले आफ्नो सोभियतविरोधी नीतिमा चीनको समर्थन लिनमा विलम्ब गरेन । हेनरी किसिन्जरको नीतिबाट नै चीनलाई खुलेर बस्ने आधार प्राप्त भयो ।
सन् १९७० मा अमेरिकाले चीनको उदयमा सहयोगको जुन नीति अवलम्बन ग¥यो । त्यो आजसम्म जारी छ । शीतयुद्धको दोस्रो भागमा वासिङ्टन र बेइजिङमा गहिरो सैन्य सम्बन्ध स्थापित भयो । दुवै मुलुकले एकअर्कालाई विश्वासिलो र भरपर्दो मित्रराष्ट्र ठानिरहेका थिए । त्यो सहयोग शीतयुद्धको अन्त्यसम्म कायमै थियो ।
यहाँसम्म कि सन् १९९६ मा चीनद्वारा ताइवानको ‘जल डमरू मध्यम’मा प्रहार गरिएको मिसाइलबाट पनि यस नीतिमा कुनै परिवर्तन आएन । जब कि चीनको त्यस कार्यबाट वासिङटन लीकै आक्रोशित थियो । यस सन्दर्भमा चीनको राम्रो आर्थिक सफलता जुन कि विश्वको सबैभन्दा ठुलो विदेशी मुद्रा भण्डार तथा विश्व व्यापारमा सबैभन्दा बढी नाफा कमाउन सफल भएको छ, यसको धेरै श्रेय अमेरिकाद्वारा सन् १९८० मा जारी गरिएको चीन नीतिलाई जान्छ ।
सातौं दशकमा अमेरिकासँगको वित्तीय सम्बन्धबिना चीनलाई आर्थिक विकास गर्न निकै परिश्रम गर्नुपर्ने थियो । अमेरिका–चीन व्यापारमा भएको महत्वपूर्ण विस्तारका कारण चीनलाई धेरै लाभ पुगेको थियो । शीतयुद्धको दोस्रो भागमा सुविधाजनक सहयोगपछि अमेरिका र चीन यस्ता साझेदारका रूपमा प्रकट भएका छन् कि दुवै एकअर्काको अन्तरनिर्भरताबाट बाँधिएका छन् ।
अमेरिका आफ्ना बढ्दो बजेट घाटा पूर्तिका लागि चीनको व्यापार तथा उसको बचतमाथि निर्भर छ, जब कि यसबाट चीन आफ्नो आर्थिक समृद्धिलाई कायम गर्न सफल भएको छ र आफ्नो सेनालाई आधुनिकीकरण गरिरहेको छ ।
आफ्नो विशाल मुद्रा भण्डारणमा दुई तिहाइ भागिदारी अमेरिकी डलरमा गरेर चीनले महत्वपूर्ण आर्थिक एवं राजनीतिक लाभ हासिल गरेको छ । चीनसँग अमेरिकाको सम्बन्ध यसरी गाँसिन पुगेको कि अब बेइजिङलाई एक्ल्याउने अथवा भीडन्त गर्ने कुरा अमेरिकाका निम्ति सम्भव छैन । बाह्य रूपमा चीनको जति चर्को विरोध गरे पनि आन्तरिक रूपमा भने अमेरिकाका निम्ति चीन अपरिहार्य छ । किसिन्जरको चीन भ्रमण यसैको संकेत हो ।