• जेष्ठ २७ २०८२, सोमबार

सय किलो सुन राख्ने गोदाम खोजिदिने सुरेन्द्र तामाङ पक्राउ

श्रावण १० २०८०, बुधबार

काठमाडौँ । त्रिभुवन विमानस्थलबाट बाहिरिएको करिब एक सय किलो सुन प्रकरणमा थप एक जनालाई राजस्व अनुसन्धान विभागले पक्राउ गरेको छ । सशस्त्र प्रहरीको सहयोगमा सुरेन्द्र तामाङलाई पक्राउ गरिएको राजस्व अनुसन्धान विभागका एक जना अधिकृतले बताए ।

सुरेन्द्र काठमाडौँबाट पक्राउ परेका हुन् । उनले सुन कारोबार गर्नेहरुलाई गोदामको व्यवस्थापन गरिदिएको आरोप छ । सुन प्रकरणमा भारतीय नागरिक थाप्तेन र चिनियाँ नागरिक जीक्वाङ लिनसहित अहिलेसम्म १७ जना पक्राउ परेका छन् । उनीहरुविरुद्ध विभागले उच्च अदालत पाटनबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ । सुनको अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयले प्रहरी उपरीक्षक कृष्ण पंगेनीलाई खटाएको छ । सशस्त्र प्रहरी बलका डिएसपी प्रदिप राई सुन बरामद गर्दादेखि नै अपरेशनमा सहभागी छन् ।

असार ३० मा हङकङकबाट काठमाडौँ ल्याइएको सो सुन् ‘रेडी ट्रेड प्रालि’ले मगाएको अनुसन्धानबाट थाहा भएको छ । रेडी ट्रेडका संचालक दोलखाको मेलुङ गाउँपालिका-३ घर भएका २१ वर्षीय दिलिप भुजेल हुन् ।

पक्राउ गरिएको आरोपीतहरुविरुद्ध विभागले राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण ऐन-०५२ विरुद्धको कसुरमा अनुसन्धान गरिरहेको छ । अनुसन्धान अधिकृत तोकेर अनुसन्धानको काम अघि बढेको राजस्व अनुसन्धान विभागका सूचना अधिकारी नवराज अधिकारीले बताए । अधिकारीले भने,‘राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण ऐन-२०५२ अनुसार अनुसन्धान भइरहेको छ ।’