काठमाडौँ । बाँदरले बालीनाली क्षति गरेमा कृषकहरूले क्षतिपूर्तिस्वरुप १० हजार रुपैयाँसम्म पाउने भएका छन् । वन तथा वातावरण मन्त्रालयले जारी गरेको ‘वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका-२०८०’ अनुसार पहिलो पटक बाँदरबाट हुने क्षतिलाई राहत दिने तयारी सरकारले गरेको हो ।
सरकारले यसअघि हात्ती, गैंडा, बाघ, भालु, चितुवा, हिउँ चितुवा, ध्वाँसे चितुवा, ब्वाँसो, जंगली कुकुर, जंगली, बँदेल, अर्ना, मगर गोही, गौरीगाई र अजिंगर गरेर १४ वटा वन्यजन्तुका कारण हुने क्षतिबापत राहत दिने गर्थ्यो । नयाँ निर्देशिकामा नीलगाई र बाँदरका कारण हुने मानवीय, पशु र अन्नबालीमा गर्ने क्षतिबापत पनि राहत दिने व्यवस्था गरिएको छ । यसअघि सरकारले २०६९ सालमा ल्याएको वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिकामा बाँदरले गर्ने क्षति सम्बन्धमा राहत उपलब्ध गराउने व्यवस्था थिएन ।
२०६९ सालको उक्त निर्देशिका खारेज गर्दै सरकारले साउन १ गतदेखि लागू गरेको ‘वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका-२०८०’ जारी गरेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक अजय कार्कीले जानकारी दिए । बाँदरले घाइते बनाएमा, अंग भंग गरेमा वा बाँदरका कारण मृत्यु भएमा पनि सरकारले राहत दिने भएको छ ।
निर्देशिकामा बाँदरका कारण सामान्य घाइते भएमा २० हजार, गम्भीर घाइते भएमा २ लाख र मृत्यु भएमा १० लाख रूपैयाँ राहत स्वरुम दिइने उल्लेख छ । अन्य वन्यजन्तुको हकमा पनि यही प्रावधान छ । नेपालको मध्य पहाडी क्षेत्रमा बाँदर र तराई क्षेत्रमा नीलगाईले धेरै नै दुःख दिने गरेको उनले बताए ।
वन्यजन्तु मानव बस्तीमा प्रवेश गरेर आक्रमण गरेमा, राष्ट्रिय निकुञ्ज वा आरक्ष बाहेक अन्य वन क्षेत्रमा विधिपूर्वक प्रवेश गर्दा वन्यजन्तुको आक्रमणमा परेमा, सरकारी काममा खटिएका कर्मचारी, वन तथा वन्यजन्तुको संरक्षण र व्यवस्थापनको काममा अनुमति लिई खटिएका वन हेरालु तथा कामदार वा अनुमतिप्राप्त प्रकृतिक पथप्रदर्शकलाई वन्यजन्तुले आक्रमण गरेर मृत्यु भएमा, गम्भीर घाइते भएमा वा सामान्य घाइते भएको अवस्थामा राहत उपलब्ध गराइने निर्देशिकमा उल्लेख छ ।